काठमाडौं । बञ्चरेडाँडामा बनिरहेको ल्याण्डफिल साइट दशैं अघि नै तयार हुने भएको छ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले साइट निर्माणको काम दसैं अगाडि नै सम्पन्न हुने बताएका छन् ।
काठमाडौं र ललितपुरको फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटको ओखरपौवास्थित ल्याण्डफिल साइट निर्माणको काम दसैं अगाडि नै सम्पन्न हुने राज्यमन्त्री मानन्धरले बताए । निर्माणस्थलको अनुगमनपछि राज्यमन्त्री मानन्धरले करिब ९० प्रतिशत काम सम्पन्न भैसकेको बताए ।
ल्याण्डफिल साइट निर्माण आयोजनाका सुपरभाइजर कमल पोखरेलले ८५ प्रतिशतसम्म काम सकिएको बताए । बर्खाको समय र लकडाउनका कारण केही ढिला भएपनि अहिले काम तीव्र गतिमा अगाडि बढिरहेको उनले बताए । ल्याण्डफिलसँग जोडिएका अरु क्षेत्रमा पनि काम अगाडी बढेकाले छिटोभन्दा छिटो काम सम्पन्न गर्नेगरी अगाडी बढिरहेको उनले बताए ।
आयोजनाका फिल्ड सुपरभाइजर प्रतिक तामाङले लकडाउन खुलेपछि रफ्तारमा काम अगाडि बढिरहेको बताए । असोज अन्तिमसम्म निर्माण सक्ने र कार्तिक पहिलो हप्ता सबै काम सम्पन्न गर्नेगरी अगाडि बढिरहेको उनले बताए ।
बञ्चरेडाँडामा काठमाडौं उपत्यकाको २ महानगरपालिका र १६ नगरपालिकाको फोहोर व्यवस्थापन हुने छ । बञ्चरेडाँडामा ल्याण्डफिल साइट निर्माणका लागि संघीय सरकारले १ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
नुवाकोटकै सिसडोलमा २ वर्षका लागि अस्थायी रुपमा फोहोर व्यवस्थापन गर्ने भनिएपनि वर्षौंसम्म फोहोर व्यवस्थापन गरिँदा ल्याण्डफिल साइट भरिएको छ । स्थानीयले सोही समस्या दोहोरिन सक्ने भन्दै यसअघि पटक पटक निर्माणमा अवरोध गर्दै आएका थिए ।