काठमाडौं । कथित उच्च घरानियाँ भनेर चिनिने शंकर ग्रुप ठगी धन्दामा मस्त भइरहँदा आमउपभोक्ता भने आफ्नो घर जुनसुकै समयमा पनि भत्किन सक्ने भन्दै रातदिन चिन्तित भएका छन् । शंकर ग्रुपद्वारा उत्पादित जगदम्बा ब्रान्डका गुणस्तरहीन फलामे डन्डी प्रयोग गरेर घर बनाएका सर्वसाधारण आफ्नो घर जुनसुकै समयमा पनि भत्किन सक्ने भयले चिन्तित भएका हुन् ।
भूकम्पको जोखिम र लगातारको पराकम्पले सर्वसाधारण जनताको घर हल्लिने र चर्कने डर छँदै छ । यस्तो अवस्थामा जगदम्बाको रड प्रयोग गरेर घर बनाउने हजारौं सर्वसाधारणको घर दिन प्रतिदिन जोखिमयुक्त बन्न थालेका हुन् । सर्वसाधारण जनतालाई विभिन्न झुटा नारा र आश्वासन दिएर ठगी धन्दा गर्दै आइरहेको शंकर ग्रुपको पछिल्लो जगदम्बा ब्रान्डका गुणस्तरहीन फलामे डन्डी फेला परेको पुष्टि भएपछि अहिले आमउपभोक्ता चिन्तित भएका हुन् ।
गुणस्तर तथा नापतौल विभागले ‘देशको मेरुदण्ड’ को भ्रामक नारा दिँदै बजारमा गुणस्तरहीन सामान बिक्री गरी उपभोक्ता ठगी धन्दामा मस्त शंकर ग्रुपको जगदम्बा स्टिल्सद्वारा उत्पादित १६ एमएमको टीएमटी बार फलामे डन्डी गुणस्तरहीन प्रमाणित गरी सो डन्डी उत्पादन र बिक्रीमा रोक लगाइसकेको छ । त्यसरी रोक लगाएपछि केही वर्षअघि सोही डन्डी प्रयोग गरेर घर निर्माण गरिसकेका उपभोक्तासमेत त्रसित भएका छन् ।
जगदम्बाा र शंकर ग्रुपमाथि विभागले कारबाहीको प्रक्रिया अघि बढाए पनि पछिल्लो समय आलटाल देखिएको छ । विभागले कारबाही प्रक्रियालाई तीव्र बनाउन नसक्दा ठगी धन्दा गर्नेहरूमा उल्टै उत्साह पलाउन थालेको छ । विभागले जगदम्बा स्टिल्स उद्योगबाट उत्पादित फलामे डन्डीको नमुना संकलन गरी आफ्नो प्रयोगशालामा परीक्षण गराउँदा तोकिएको गुणस्तरको मापदण्डअनुरूप नपाइएपछि कारबाहीको प्रक्रिया अघि बढाएको थियो । संकलित नमुनाअनुसार जगदम्बा स्टिलले आफ्नो उत्पादनमा कार्बोनको मान ०.३० प्रतिशत हुनुपर्नेमा अधिकतम ०.३५ प्रतिशत राखेकोे र सल्फरको परिमाण ०.०५५ प्रतिशत हुनुपर्नेमा अधिकतम ०.०६० प्रतिशत भेटिएको विभागले जनाएको छ ।
मापदण्ड परीक्षण गर्ने क्रममा सो उद्योगको डन्डी न्यून गुणस्तरको पाइएकाले नेपाल गुणस्तर प्रमाण चिह्न ऐन–२०३७ तथा नियमावली, २०४० को नियम (१६) बमोजिम कानुनी कारबाही प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जगदम्बाले डन्डी उत्पादन गर्दा मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर गुणस्तरमा बेवास्ता गरेको भेटिएपछि त्यस प्रकारको गुणस्तरहीन डन्डी बिक्रीमा रोक लगाइएको बताए । उनले सो ब्याचको सम्पूर्ण डन्डी बजारबाट फिर्ता लिनसमेत सो उद्योगलाई निर्देशन दिइएको जानकारी गराए । अब बजारमा बिक्री गरेको गुणस्तरहीन उत्पादन फिर्ता लिएर जानकारी गराउनसमेत निर्देशन दिएको बताउँदै पुडासैनीले भने, ‘अझै यस उद्योगले विभागको निर्देशन अटेर गरे थप कारबाही हुन्छ ।’
उनले अहिले बाराको सिमरास्थित उद्योगमा मौज्दात रहेको १६ एमएमका करिब ३०० टन डन्डी विभागको प्रतिनिधिको रोहवरमा स्क्राप (नष्ट) गर्न विभागबाट प्राविधिकको टोली त्यसतर्फ जाने बताए ।
विभागले निर्देशन दिएकै दिनबाट सो उद्योगको उत्पादन बन्द भएको जानकारी गराउँदै महानिर्देशक पुडासैनीले सो साइजको डन्डी उत्पादनको गुणस्तर नसुधारेमा अहिले रोकिएको इजाजत नै रद्द नै हुने बताए ।
विभागको निर्देशनअनुसार जगदम्बाले बजारमा बिक्री गरेका करोडौं रुपैयाँ मूल्यका डन्डी फिर्ता लिनुपर्नेछ । विभागका निर्देशक सञ्जीवकुमार ठाकुरले पनि जगदम्बा स्टिल प्रालिले १६ एमएमको फलामे डन्डी उत्पादन गर्दा मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर गुणस्तरमा बेवास्ता गरेको भेटिएपछि बिक्री वितरणमा रोक लगाइएको बताए ।
विभागका अनुसार परीक्षणको क्रममा जगदम्बा स्टिलको फलामे डन्डीमा केमिकलको मात्रा धेरै पाइएको छ । सल्फर, कार्बनको मात्रा बढी हुँदा रड कडा बन्छ । रडमा डक्टिलिटी (नरमपना वा तन्किने शक्ति) कम हुँदा बंग्याउँदा भाँचिन्छ । अहिले उसले बजारमा पठाएका यस ब्याचका डन्डी सोही खालका हुन सक्ने भन्दै यसअघि घर निर्माण गरेका उपभोक्तासमेत थप चिन्तित भएका हुन् ।
गत साउनमा काठमाडौं महानगरपालिका–१६, खरिबोट, बोहोराटारका श्रीकृष्ण भट्टराईले घर निर्माण गर्दा जगदम्बा स्टिलको १६ एमएमको डन्डी भाँच्चिएको फेला परेको थियो । सो डन्डी गुणस्तरहीन भएको भन्दै घरधनी भट्टराईले गुणस्तर परीक्षण, क्षतिपूर्ति र कारबाही माग गर्दै निवेदन दिएपछि विभागले परीक्षण गरेको थियो ।
अनुसन्धानको क्रममा फलामे डन्डी उत्पादन गर्न उच्च गुणस्तरको ब्लेड प्रयोग गर्नुपर्नेमा जगदम्बाले कवाडीमार्फत संकलन गरेका टुक्रा पगालेर ब्लेड बनाई प्रयोग गर्दै आएको पाइएको छ । नम्बर वान फलामे छड भनेर दाबी गर्दै आएको जगदम्बाको गुणस्तरमा यस्तो लापरवाही भेट्टिएपछि अन्य उपभोक्ताको हितका लागि यस्तो कमसल डन्डी बिक्रीमा रोक लगाउनुपर्ने अवस्था आएको विभागले जनाएको छ ।
यसअघि पनि जगदम्बा स्टिलका उत्पादनमा धेरै पटक प्रश्न उठेको थियो । समस्या आएका ठाउँमा सो कम्पनीले आफ्ना प्रतिनिधि पठाएर सम्झौता गर्दै आएको पाइएको छ । जगदम्बा डन्डी प्रयोग गरेर निर्माण गरिएका घरलगायत भौतिक पूर्वाधार कमजोर देखिए सुरक्षाका लागि बिमा गरिदिने र थप केही दुर्घटना भए जिम्मेवारी लिने गरी उपभोक्तासँग उसले सम्झौता गर्दै आएको थियो । अहिले काठमाडांै महानगरपालिका–१६ बोहोराटारका भट्टराईको तीनतले घरलाई पनि १० वर्षको बिमा गरिदिने र लाइफ ग्यारेन्टी लिने सम्झौता गरी ठगी धन्दाबाट पुनः उम्कने प्रयास गरेको छ । आजको राजधानी दैनिकबाट
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend