Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यूएई ‘ए’विरुद्ध नेपाल ३ विकेटले विजयी


    बुधबार, साउन ३ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपको आज बुधबार खेलिएको समूहगत चरणको संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको अन्तिम खेलमा नेपालले आफ्नो जित निकालेको छ। नेपाल (यूएई) विरुद्ध तीन विकेटले विजयी भएको छ ।

    यूएईले दिएको १५८ रनको लक्ष्य नेपालले २३ ओभरमा ७ विकेट गुमाउँदै पुरा गर्‍यो।

    नेपालका लागि कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गरे। ओपनिङ ब्याटर भुर्तेलले ४३ बल खेल्दै ९ चौका र ४ छक्कासहित ७१ रन बनाए। भुर्तेलले यूएईविरुद्ध नेपालका लागि ६ विकेट समेत लिएका थिए।

    ओपनिङ ब्याट्सम्यान अर्जुन साउद शून्य रनमै आउट हुँदा भुर्तेलले देव खनालसँगको साझेदारीमा उत्कृष्ट ब्याटिङ गरेका थिए। देव खनालले ३८ बलमा २४ रन बनाए। यस्तै, सन्दीप जोराले पनि २४ रन बनाए। १५ बल सामना गरेका उनले २ छक्का र १ चौका प्रहार गरे।

    कप्तान रोहित पौडेलले ९ रन बनाए। गुलसन झाले ११ रन बनाउँदा पवन सर्राफ शून्य रनमा आउट भए। कुशल मल्ल २ तथा प्रतिस जिसीले ८ रन बनाए।

    नेपालविरुद्ध यूएईका मोहम्मद फराजुद्दिन एक्लैले ५ विकेट लिए। मुहम्मद जवादुल्लाहले २ विकेट लिए।

    टस जितेर पहिले ब्याटिङ रोजेको यूएई ४४ ओभरमा १५७ रन बनाउँदै अलआउट भएको थियो।

    यूएईका लागि लभप्रित सिंहले सर्वाधिक ५२ रन बनाए। ८२ बल खेलेका उनी कुशल भुर्तेलको बलमा सन्दीप जोराबाट क्याचआउट भए।

    अर्का ओपनर आर्यांश शर्माले १४ रन बनाए। उनलाई कुशल मल्लले पवन सर्राफबाट क्याचआउट गराए।

    यस्तै, अंश टण्डन ३, इथान डिसुजा १८, फहद नवाज ४, अलि नासीर १, महोम्मद फराजुद्दिन ४ रन बनाएर आउट भए। निलांश केसवानी ९, जस ग्यानानी १३ आउट हुँदा मुहम्मद जवादुल्लाह १ रनमा नटआउट रहे।

    नेपालका लागि कुशल भुर्तेल एक्लैले ६ विकेट लिएका थिए। यस्तै, मौसम ढकालले २ तथा कुशल मल्ल र पवन सर्राफले १–१ विकेट लिए।

    इमर्जिङ टिम्स एसिया कप क्रिकेटको समूह ‘बी’ मा रहेका नेपाल र युएई ए दुबै समूह चरणबाट बाहिरिसकेका छन्। नेपालले यूएईविरुद्ध सान्त्वना जित हात पार्दा युएईले भने जितविहीन रहेर प्रतियोगिता सकाएको हो।

    नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो। यस्तै, दोस्रो खेलमा भारत एसँग ९ विकेटले पराजित भएको थियो।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार