Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर आर्थिक क्षेत्र चलायमान बनाउन आग्रह


    शुक्रबार, असोज २ २०७७
    740
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाल उद्योग परिसङ्घले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर आर्थिक क्षेत्रलाई चलायमान बनाउने वातावरण निर्माण गरिदिन सरकारसँग आग्रह गरेको छ । परिसङ्घका अध्यक्ष सतिशकुमार मोर नेतृत्वको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा युवराज खतिवडासँग भेटी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी कोरोना सङ्क्रमित नभएका जनशक्तिबाट आर्थिक क्षेत्रलाई चलायमान बनाउन आग्रह गरेको थियो ।

    उद्योगमा कार्यरत कर्मचारी वा कामदारमा सङ्क्रमण भेटिएमा कन्ट्याक ट्रेसिङका आधारमा कर्मचारी तथा कामदारको पिसिआर परीक्षण गराएर बाँकी कर्मचारी तथा कामदारबाट उद्योग सञ्चालन गर्ने व्यवस्था गर्नुपर्नेमा परिसङ्घको प्रतिनिधिमण्डलले जोड दियो । पर्यटन क्षेत्रलाई व्यवस्थित गर्दै होटल तथा पर्यटक गन्तव्यलाई पूर्णरुपमा सञ्चालन गर्नुपर्ने र चौध दिनसम्मको क्वारेन्टाइनको व्यवस्थालाई परिमार्जन गरी तीन दिनको क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने विषयमा पनि छलफल भएको परिसङ्घले जनाएको छ ।

    निजी क्षेत्रबाट सञ्चालित अस्पताल तथा होटललाई आबद्ध गराई उपचार तथा क्वारेन्टाइन र आइसोलेशनका सेवा प्रदान गर्न निजी क्षेत्रलाई पनि दिनुपर्ने धारणा परिसङ्घले राखेको थियो । मौद्रिक नीतिमा व्यवस्था भएका कतिपय व्यवस्था कार्यान्वयनमा नआएको तथा उत्पादनमूलक उद्योगमा लकडाउन अवधिभर विद्युत्को डिमाण्ड शुल्क छुट दिने र माग कम हुने समयको विद्युत् खपतमा ५० प्रतिशत छुट दिने बजेटमार्फत घोषणा गरिएकामा हालसम्म सो व्यवस्था कार्यान्वयनमा नआएको विषयमा परिसङ्घले सरकारको ध्यानाकर्षण गराएको थियो । सो अवसरमा पूर्वअर्थमन्त्री डा खतिवडाले परिसङ्घले उठाएका विषयलाई आफूले गम्भीरतापूर्वक लिएको र कतिपय विषय कार्यान्वयनका तहमा समेत छलफल भइरहेको बताउनुभयो ।  रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार