Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गण्डकीमा डेङ्गुका १ सय ५ र स्क्रब टाइफसका ५४ जना बिरामी


    बिहिबार, असोज १ २०७७
    695
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणसँगै डेङ्गु र स्क्रबटाइफसको संक्रमणसमेत बढेको छ ।

    हालसम्म तनहुँ, मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुका बिरामी फेला परेका छन् । यद्यपि गत वर्षको तुलनामा यस वर्ष संक्रमण कम देखिएको छ ।

    कास्की, नवलपरासी, म्याग्दी र बाग्लुङमा स्क्रब टाइफसका बिरामी फेला परेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

    निर्देशनालयले गत वर्ष १६ पुषदेखि ३१ भदौसम्म प्रदेशमा १ सय ५ डेङ्गु र ५४ स्क्रब टाइफसका बिरामी भेटिएको जनाएको छ ।

    म्याग्दीमा सबैभन्दा बढी डेङ्गुु र स्क्रबटाइफसका बिरामी देखिएका छन् । यस अवधिमा म्याग्दीमा डेङ्गुका ६४ र स्क्रबटाइफसका ४३ बिरामी फेला परेको जनाइएको छ ।

     कास्कीमा २०, लमजुङमा १०, स्याङ्जामा ४, नवलपरासीमा ३, बागलुङमा २, पर्वत र गोरखामा १/१ जना डेङ्गुका बिरामी भेटिएका छन् ।

    त्यसैगरी बागलुङमा ६, नवलपरासीमा ३ र कास्कीका २ जनामा स्क्रबटाइफस देखिएको निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । 

    डेङ्गुको नियन्त्रण गर्न र संक्रमण फैलिन नदिन स्वास्थ्य संस्थामार्फत ‘खोज र नष्ट गर’ अभियान तथा सरसफाइका कार्यक्रमहरु सुश्र गरिएको उनको भनाइ छ । 

    डेङ्गु ‘एडिस’ लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । वर्खा लागेसँगै लामखुट्टेले जमेका पानीमा फुल पार्ने गर्दछ र यो रोग लागेपछि मानिसमा अत्यधिक ज्वरो आउने गर्दछ । 

    मांसपेशी र हाडजोर्नीहरु दुख्ने, शरीरमा बिमिराहरु देखापर्ने लगायतका लक्षणहरु यसमा देखिन्छन् । डेङ्गुको उपचार हालसम्म पत्ता लाग्न सकेको छैन ।

    स्क्रब टाइफस किराबाट मानिसमा सर्ने सरुवा रोग हो । यसको सङ्क्रमित बिरामीमा उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, पसिना आउने, झाडापखाला लाग्नेलगायत लक्षण देखिने भएकाले यसबाट जोगिन घरबाहिर जाँदा पूरै शरीर ढाकिने कपडा लगाउन चिकित्सकले सुझाव दिने गरेका छन् । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार