Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • कोशी प्रदेशका सामाजिक विकासमन्त्री राजभण्डारीविरुद्ध उच्च अदालतमा अवहेलना मुद्दा


    मंगलबार, असार १२ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • विराटनगर । अदालतका न्यायाधीशले घुस खाएर आदेश दिएको आरोप लगाएका कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीविरुद्ध उच्च अदालत विराटनगरमा ‘अदालतको अवहेलना’ सम्बन्धी मुद्दा दायर भएको छ ।

    राजभण्डारीले केही दिन अगाडि आयोजित एक कार्यक्रममा न्यायाधीशले पैसा खाएर स्टेअर्डर दिएको अभिव्यक्ति दिएका थिए । अभिवक्ता उद्धबचन्द्र घिमिरेले राजभण्डारीले अदालतको अवहेलना गरेको भन्दै मुद्दा दायर गरेका हुन् ।

    मन्त्री राजभण्डारीले उच्च अदालतले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिवले पैसा दिएकै भरमा न्यायाधीशले आदेश गरेको गम्भीर आरोप लगाएका थिए । उनले न्यायाधीशलाई फटाहा र कलङ्कको संज्ञासमेत दिएका थिए ।

    मन्त्रीले राजभण्डारीले दिएको अभिव्यक्ति नेपालको संविधानको धारा १३६ न्याय प्रशासन २०७३ को दफा १७ बमोजिम अदालतको अवहेलनाको बनेको जाहेरीमा उल्लेख छ । न्यायाधीशको नाम किटान गरी संविधान र कानुनको उल्लङ्घन गर्दै मन्त्रीले दिएको अभिव्यक्ति न्यायालयमाथि द्वेष र घृणा फैलाउने उद्देश्यले प्रेरित भएको दाबी निवेदनमा गरिएको छ ।

    निवेदनमा मन्त्री राजभण्डारीलाई अदालतको अवहेलनामा १ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना गर्न माग गरिएको छ । यसअघि उच्च अदालत बारले आफ्नो संवैधानिक अप्रमाणित र गैर जिम्मेवार अभिव्यक्ति दिँदै जनतामा न्यायालयप्रति भ्रम सृजना गरिने काम मन्त्रीले गरेको भन्दै आपत्ति जनाएको थियो ।

    कोशी प्रदेश सरकारको गत जेठ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध भोलीपल्ट नै वाग्लेले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । उच्च अदालतका न्यायाधीश कृष्णकमल अधिकारीको इजलासले प्रदेश सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न जेठ ५ गते अन्तरिम आदेश दिएको थियो ।

    पुनः उच्च अदालत विराटनगरका न्यायाधीश द्वय कृष्णकमल अधिकारी र राजनप्रसाद भट्टराईको इजलासले जेठ ५ को अन्तरिम आदेशलाई निरन्तरता दिएको थियो । मन्त्री राजभण्डारीले सोही आदेशविरुद्ध आक्रोश व्यक्त गरेका थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार