Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपत्यका अपराध अनुसन्धान कार्यालय आक्रामक, सीआईबी सुस्तायो


    शुक्रबार, असार ८ २०८०
    2.3K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गम्भीर प्रकृतिका अपराध अनुसन्धानमा एकपछि अर्को सफलता हासिल गरेको छ । एसएसपी डा. मनोजकुमार केसी उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख भएपछि नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी गिरोह समातियो । नक्कली भूटानी शरणार्थी प्रकरण खोतल्दै जाँदा देशका गृहमन्त्री, बहालवाला सचिवदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिवसहित १६ जना हाईप्रोफाइलहरु पुर्पक्षका लागि जेलमा पुगेका छन् ।

    एसएसपी केसी नेतृत्वको अपराध अनुसन्धान कार्यालयले हालै अनलाइन बेटिङमा संलग्न ८ जना पक्राउ गरेको छ । अनलाइन बेटिङ प्लेटफर्ममार्फत् सट्टेबाजीसम्बन्धी प्रचार गरेको आरोपमा प्रहरीले बल्छी ध्रुवे भनिने कलाकार मरिचमान श्रेष्ठ र टेलिसिरियल खेलिरहेका राजु मास्टर भनिने राजु पौडेलसहित म्याकुरी भन्ने पवन खतिवडा, एलिश राई, ज्वलन घर्तिमगर, गणेश देवकोटा, सरोज घिमिरे र भटभटे माइला भन्ने वेगम नेपालीलाई पक्राउ गरेको छ ।

    उपत्यका अपराध अनुसन्धान कार्यालयले एकपछि अर्को सफलता पाउँदै गर्दा जटिल र गहन प्रकृतिका अपराध अनुसन्धानका लागि गठन भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) भने सुस्त देखिएको छ ।

    सरकारले गएको चैत २० गते विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा नेपाल प्रहरीका पूर्व एआईजी उत्तम सुवेदी र पूर्व डीआईजी गणेशबाबु अर्याल सदस्य रहेको समिति बनाएर मिटर ब्याज पीडितको समस्या समाधान गर्नेगरी प्रतिवेदन तयार गरिरहेको छ ।

    मिटर ब्याज पीडितको समस्या समाधानका लागि सरकारले समिति नै बनाएको अवस्थामा सीआईबीका प्रमुख एआईजी किरण बज्राचार्य भने १०–२० लाखका त्यस्तै प्रकृतिका उजुरी लिंदै अनुसन्धान गर्दैआएकी छन् । सीआईबी सहकारी र मिटरब्याजका खुद्रा काममा अल्झिदा जटिल प्रकृतिका अपराध अनुसन्धानमा उपत्यका अपराध अनुसन्धान कार्यालय आक्रामक रुपमा उत्रिएको छ ।

    नेपाल प्रहरीले ठूला र जघन्य अपराध अनुसन्धान गर्नका लागि केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) गठन गरेको थियो । सीआईबीले विगतमा अन्तर्राष्ट्रिय कल चोरी(भीओआईपी), ३३ किलो सुन काण्ड, विभिन्न जघन्य अपराधका घटनादेखि पछिल्लो समयमा ५ अर्ब ६३ करोड ठगी गरेको अभियोगमा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित ८ बर्ष जेल सजायको माग गर्र्दै मुद्दा दायर गरेको थियो । शैक्षिक प्रमाणपत्र कीर्ते गर्ने चिकित्सकहरुलाई पक्राउ गर्ने कार्यसमेत भएको थियो ।

    जीबन बिमा कम्पनीबाट रकम हत्याउनका लागि सर्जन विकको हत्या गर्ने सपना मल्लसहित ६ जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो । मल्लसहितका ६ जनाले सुरुमा विकको वीमा गरी पछि हत्या गरेर बिमाबापत २ करोड ५० लाख रुपैयाँ लिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार