Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • रेशमको आममाफीबारे गगनको आक्रोश : यो राजाको शासन होइन, कसैको हुकुम चल्दैन


    सोमबार, जेष्ठ १५ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशम चौधरी जेलबाट रिहा भएपछि सर्वोच्च अदालतको आदेशलाई खेलाची गरेको अर्थात् अदालत हेप्न नहुने बताएका छन्।

    थापाले चौधरीलाई आज गणतन्त्र दिवसको अवसरमा आम माफी दिएर सरकारले सर्वोच्च अदालतको आदेशको बलमिच्याईं गरेको टिप्पणी गरेका । सोमबार ललितपुरमा आयोजित कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले आवश्यक्ताका आधारमा निर्णय गर्नेभन्दा पनि सरकारले कानुनको शासन मान्नुपर्ने बताए ।

    थापाले नेपालको कानुनले कुनै पनि विषयमा अदालतले निर्णय गरिसकेपछि अदालतले गरेको अन्तिम फैसला कसुरका सन्दर्भमा सजाय मिनाहा हुन्छ कि हुँदैन भनेर कानुनले बन्दोबस्त गरेको उल्लेख गर्दै कानुनको बन्दोबस्त गरेभन्दा बाहिर कोही पनि जान नमिल्ने बताए । सरकारलाई मन लाग्यो, सरकारले निर्णय गर्‍यो, राष्ट्रपतिले सजाय मिनाहा गरिदिनुभयो भन्ने हिसाबले मात्रै यसलाई लिन नहुने उनको भनाइ छ ।

    ‘मेरो परिवारको सदस्यलाई कानुनले समात्दा मलाई के लाग्छ, यो कानुनमा यस्तो नभइदिएको भए हुन्थ्यो भन्ने लाग्छ । मेरो परिवारको सदस्यलाई दण्ड नभइदिएको भए हुन्थ्यो भन्ने हुन्छ । तर, कानुनको शासनले के भन्छ, कानुनको शासनले तपाईँको इच्छा के छ ? तपाईँको चाहना के छ ? तपाईँको आवश्यकता के छ ? त्यसका आधारमा निर्णयहरू हुँदैनन् । त्यसको एउटा प्रक्रिया हुन्छ । नेपालको कानुनले कुनै पनि विषयमा अदालतले निर्णय गरिसकेपछि अदालतले गरेको अन्तिम फैसला कसुरका सन्दर्भमा सजाय मिनाहा हुन्छ की हुँदैन भनेर कानुनले बन्दोबस्त गरेको छ,’ थापाले भने, ‘त्यो कानुनको बन्दोबस्तभन्दा बाहिर कोही पनि जान पाइँदैन । आज सरकारलाई मन लाग्यो, सरकारले निर्णय गरिदियो, राष्ट्रपतिले सजाय मिनाहा गरिदिनुभयो, यो राजाको शासन होइन, यहाँ हुकुम चल्दैन । यो गणतन्त्र हो । गणतन्त्रमा केवल कानुन मात्रै चल्छ । कानुनको शासन मात्रै हुन्छ ।’

    उनले यो राजाको शासन नभएकाले कसैको हुकुम नचल्ने बताए । थापाले सरकार चलाउने कुरामा केही गाह्रो भयो भनेर प्रचलित कानुनलाई मिच्न नहुने बताए । उनले राष्ट्रहीत विपरीत गरिने निर्णयले भविष्यमा आफैंलाई पछुतो हुने बताए ।

    महामन्त्री थापाले रेशम चौधरीको बारेमा अदालतको पूर्ण पाठ नआइसकेको अवस्थामा अदालतलाई हेप्नुले जे गरे पनि हुन्छ भन्ने मानसिकता विकसित हुँदै गएको प्रमाणित भएको बताए । विधिको शासन वकालत गर्ने बेलामा सरकार परिवर्तन भएर केही फरक नपर्ने बताए ।

    ‘आज हामीलाई सरकार चलाउने कुरामा केही गाह्रो भयो भनेर हामीले प्रचलित कानुनलाई पनि मिचेर, थिचेर बलमिच्याईं गरेर, दादागिरी देखाएर हामी कुनै निर्णय गर्छाैँ । अदालतको पूर्ण पाठ आएको छैन । हामी हतारहतार निर्णय गर्छौँ भने त्यसको अर्थ के हो ? हामीले अदालतलाई हेप्यौँ । हामीले बलमिच्याईं गर्‍याैँ । हामीले जे गरेपनि हुन्छ भन्ने सोच्यौँ,’ थापाले भने, ‘हामीलाई अप्ठ्यारो परेको बेलामा यस्ता कुरा चल्छन् भन्ने सोच्यौँ । तर नागरिकको ठाउँबाट हेर्दै गर्दा के देखिन्छ ? विधिको शासनको वकालत गर्दै गर्दा सरकार गए जान्छ, यस्ता सरकार गए जान्छन्, गएर केही पनि हुँदैन । अर्को सरकार बन्छ । केही फरक पर्दैन ।’

    थापाले कांग्रेस सत्ता र सरकारमा लिप्त हुन थालेको पनि बताए । उनले आजका युवामा कांग्रेसप्रति निराशा हुनुको मूल कारण सत्ता र सरकारका लागि कांग्रेसले मरिमेट्नु रहेको उल्लेख गरे । यस्ता गल्ती गल्ती भएकै ठाउँबाट सच्याउनुपर्ने थापाको भनाइ छ । उनले पार्टीमा अब पनि यस्ता गल्ती स्वीकारेर अघि नबढ्ने बताए ।

    ‘त्यो कांग्रेस जसले मर्ला सत्ता चाहिँदैन, मलाई सिद्धान्त प्यारो छ भनेर ३० वर्ष पञ्चायतसँग संघर्ष गर्‍यो । त्यो कांग्रेस जुन ज्ञानेन्द्र शाहले गराएको निर्वाचनमा म जान्न भन्यो, चुनावमा अस्ति भर्खर २०६० सालमा होइन ? मेयर, उपमेयर, वडा अध्यक्ष बन्दैन थियौँ, हामी यो चुनावमा भाग लिँदैनौँ किनकी यो चुनाव चुनाव होइन भन्यो । त्यो कांग्रेसको इमेज अहिले के भयो ? काँग्रेसका लागि सरकार सबै कुरा हो । कांग्रेसका लागि सत्ता सबैकुरा हो । सत्ताका लागि हामी सबै कुरा गर्छौँ भन्ने जुन इमेज बन्यो, आज निराशाको मूल कारण यही हो,’ थापाले भने ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार