Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्टन्टबाज मन्त्री बस्नेतको काइदा, कर्मचारी तर्साउँदै उपकरण खरिददेखि नियुक्तिमा लिंदैछन् फाइदा


    मंगलबार, जेष्ठ २ २०८०
    2.2K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत पूर्वमन्त्री रवि लामिछाने र हालका पर्यटन मन्त्री सुदन किराँतीको शैलीमा स्टन्टबाजी गरेर चर्चा कमाउने होडमा लागेका छन् । कोरोना संक्रमण बढिरहेको छ । बर्षायामसँगै डेंगीको महामारी फैलने त्रास बढिरहेको छ । यस्तो अवस्थामा स्वास्थ्यकर्मीको मनोबल बढाएर महामारी नियन्त्रण र पूर्वतयारीका लागि एकजुट बनाउन लाग्नुपर्ने मन्त्री बस्नेत कर्मचारीको बिरोधमा उत्रिएका छन् ।

    बहाली भएको भोलिपल्टै आफूनिकट युट्युबररहरुलाई साथमा लिएर कार्यालय सुरु हुनुअघि नै मन्त्रालयका सबै कोठाचोटा चाहारेर कर्मचारीको अनुपस्थित भएको भन्दै बदनाम गर्न लागेका बस्नेतले सोही दिन स्वास्थ्य सेवा विभागमा पुगेर पनि अर्को स्टन्टबाजी गर्न भ्याएका थिए । स्वास्थ्य मन्त्रालयको नेतृत्व भनेको त्यस मातहतका सबै कर्मचारीको अभिभावक हो ।

    प्राविधिक समूहका कर्मचारीको बोलवाला रहेको स्वास्थ्य मन्त्रालय संवेदनशील मन्त्रालय मानिन्छ । अभिभावक नै सन्तानरुपी कर्मचारीको हुर्मत लिन तम्सिएपछि अहिले स्वास्थ्यका कर्मचारीहरु आक्रोशित बन्न पुगेका छन् । परिणामलाई भन्दा उपस्थितिलाई महत्वपूर्ण ठान्ने मन्त्री बस्नेतको उक्त स्टन्टबाजीलाई चर्चामा आउने, कर्मचारी तर्साउने र भित्रभित्रै आर्थिक लाभ लिने खेलका रुपमा लिन थालिएको छ ।

    २२ बर्षअघि त्यही मन्त्रालयको राज्यमन्त्री हुँदा बस्नेतलाई राम्रै मान्नेहरु अहिले पनि स्वास्थ्यमा कार्यरत छन् । हालका श्रममन्त्री शरद्सिंह भण्डारी स्वास्थ्य मन्त्री हुँदा बस्नेत राज्यमन्त्री थिए ।
    स्वास्थ्यको अनुभव लिइसकेका बस्नेत मन्त्री भएर आएपछि कर्मचारीहरु दंग पर्दै स्वास्थ्यका समस्या समाधान हुने अपेक्षा राखेका थिए । तर बहाली हुँदा कर्मचारीलाई निर्देशन दिने समयमा मन्त्रालयको समस्यालाई भन्दा पनि उपकरणहरुको बारेमा चासो राखेपछि उपस्थित कर्मचारीहरु नै आश्चर्यमा परेका थिए ।

    १५ दिनभित्र देशभरका स्वास्थ्य संस्था तथा अस्पतालका उपकरणको प्रयोगको अवस्थाको विवरण मागेपछि दायाँबायाँ बसेका सचिवद्वय नै अलमलमा परेका थिए । अहिले मन्त्री बस्नेतले ३ वटा(स्वास्थ्य सेवा, औषधि र आयुर्वेद) विभाग महानिर्र्देशकको परिवर्तन गर्ने हल्ला चलाइसकेका छन् । थमौती हुन चाहनेहरु समेत टेण्डर बुझाउन आऊन् भनेर उक्त हल्ला चलाइएको चर्चा स्वास्थ्य मन्त्रालयमा छ ।

    न्याम्सका पदाधिकारी नियुक्तिमा चलखेल

    विभाग र मन्त्रालयका महाशाखा प्रमुखहरुलाई परिवर्तन गर्ने सोच बनाएका बस्नेतको अहिलेको मुख्य ध्यान चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)को उपकुलपतिलगायत पदाधिकारी नियुक्तिमा केन्दित छ । करिब २ महिनादेखि न्याम्स पदाधिकारीबिहीन छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य मन्त्रालय सम्हालेका बेला पदाधिकारी नियुक्ति गर्न नखोजेका होइनन्, कांग्रेस निकट कर्मचारी र नेपाल चिकित्सक संघको दबाबका अगाडि उनको केही चलेन । अहिले कांग्रेस निकट हुँ भन्ने वीर अस्पतालमा कार्यरत कर्मचारी संघ संगठनदेखि लिएर औषधि उपकरणका बिचौलियाहरु न्याम्सका पदाधिकारी नियुक्तिका लागि मन्त्री बस्नेतलाई दबाब दिइरहेका छन् ।

    प्रधानमन्त्री प्रचण्डलाई विगतमा पदाधिकारी नियुृक्ति गर्न नदिने समूह नै अहिले उनै प्रचण्डलाई भेटेर न्याम्समा नियुक्ति छिटो गर्न दबाब दिन थालेका छन् । यसका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाइसकेका छन् ।

    न्याम्सको उपकुलपतिका लागि वीर अस्पतालका पूर्वनिर्देशक भूपेन्द्र बस्नेतलाई एक स्वार्थ समूहले अगाडि सारेको छ । मन्त्रीमा बस्नेत नियुक्त भएपछि हौसिएको उक्त समूहले भोलिपल्टै बधाइ दिने नाममा लाम लागेर मन्त्रालयमा पुगी भूपेन्द्रलाई भीसी बनाउन दबाब दिएको थियो ।उक्त पद रिक्त हुनुअघि नै सो स्वार्थ समूहले बस्नेतलाई भीसीमा अगाडि सारेको हो ।

    दुई पटक वीर अस्पतालको निर्देशक भइसकेका बस्नेत कांग्रेसनिकट भएर पटक पटक लाभ लिने डाक्टरका रुपमा चिनिन्छन् । कांग्रेस नेता डा. शेखर कोइराला निकट रहेका उनी अहिले आफू संस्थापन निकट भएको बताउन थालेका छन् । मन्त्री बस्नेत संस्थापन निकट भएका कारण स्वार्थ समूहले भूपेन्द्रलाई सभापति शेरबहादुर देउवाको निकट देखाउन अनेक प्रुमाणहरु जुटाइरहेको छ ।

    उपेन्द्र यादव स्वास्थ्य मन्त्री हुँदा न्याम्स बाहिरबाट डा. डीएन साहलाई नियुक्त गरिएको थियो । उनका पालामा वीर र न्याम्समा त्यति धेरै बेथिति सुन्नुपरेको थिएन । तर अस्पतालभित्रका चिकित्सकलाई भीसी बनाउँदा स्वार्थ समूहलाई लाभ हुने र आफ्नै इशारामा नचाउन पाउने भएका कारण अहिले बाहिरबाट कुनै हालतमा भीसी नबनाउन दबाब सृजना गरिंदैआएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार