Nepal Face
  • आइतबार, १० साउन २०८३
  • व्यवसायी शंकर कँडेल मृत्यु प्रकरण : रुगटालाई पक्राउ नगरेको भन्दै चितवन बन्द


    शनिबार, बैशाख २३ २०८०
    3.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • चितवन । पोल्ट्री व्यवसायी शंकर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेका प्रदीप रुँगटा हालसम्म पनि प्रकाउ नपरेको भन्दै आज चितवन बन्द गरिएको छ।

    बन्दको प्रभाव राजमार्ग क्षेत्रमा परेको छ । राजमार्गमा ठूला सवारी साधान सञ्चालन हुन सकेका छैनन् भने भित्री सडकमा साना सवारी साधान र मोटरसाइकल चलेका छन् ।

    शंकर कँडेल न्यायिक संघर्ष समितिको नाममा बन्द आह्वान गरिएको हो । नारायणगढको पुल्चोक, मुग्लिन र खैरहनीलगायतका स्थानमा बन्दकर्ता जम्मा भएर गाडी चलाउन रोकेका छन् ।

    बन्दकर्ता आफूहरू मोटरसाइकलमा हिँडेका विभिन्न ठाँउमा पुगेर बन्द गराइरहेका छन् । पश्चिमबाट आउने सवारी साधनलाई गैंडाकोटमा नै रोकिएका छन् ।

    पुल्चोकमा बन्दकर्ताले अवरोध सिर्जना गरेपछि अत्यावश्यक बाहेकका सवारी साधन चल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    मृतक ५२ वर्षीय कँडेल भरतपुर महानगरपालिका– ८ निवासी हुन्। उनी कांग्रेसका पूर्वकोषाध्यक्ष, वर्तमान महासमिति सदस्य एवं उद्योग वाणिज्य संघ चितवनका पूर्वकार्यसमिति सदस्य पनि हुन्। उनको नाम नेपालको उत्कृष्ट पोल्ट्री व्यवसायीमध्येमा आउने गथ्र्याे ।

    कँडेलले अनमोल फिड्सको आफ्नै कार्यालयमा गत मंगलबार साँझ झुण्डिएर आत्महत्या गर्दा छाडेको सुसाइड नोटमा फिड्सका ८५ प्रतिशत शेयर भएका प्रदीप रुगटा र कम्पनीका चार्टड एकाउन्टेन्ट जीवन रावलकै कारणले आत्महत्या गरेको उल्लेख गरेका छन् ।

    परिवारले दुवै जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दामा किटानी जाहेरी दिएका छन् । उनीहरु विरुद्ध पक्राउ पूर्जीसमेत जारी गरिएको छ ।

    जीवन रावल सिमराबाट बिहीबार राति नै पक्राउ परिसकेका छन् भने प्रदीप अझै फरार छन् । प्रदीप नै आत्महत्या प्रकरणको मुख्य व्यक्ति भएकोले पक्राउ गर्नुपर्ने माग व्यवसायीहरुको छ ।

    यसैबीच, कांग्रेस चितवनले आज दिउँसो १ बजेदेखि २ बजेसम्म भरतपुरको चौंविसकोठीमा एक घण्टा पूर्वपश्चिम राजमार्ग बन्द गर्ने जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार