Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वीरगन्जमा जथाभावी फोहोर फाल्ने १ जनामाथि ५० हजार जरिवाना


    शुक्रबार, बैशाख २२ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • वीरगन्ज। कहीँ तपाईं वीरगञ्ज महानगर क्षेत्रमा जथाभावी फोहर त फाल्दै हुनुहुन्न ? यदि जथाभावी फोहर फाल्दै हुनुहुन्छ भने अबदेखि नफाल्नुहोला । नत्र तपाईंमाथि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाइने छ ।

    यसैगरी शहरको सरसफाइ र सौन्दर्यकरण अभियान चलाएको वीरगन्ज महानगरपालिकाले शुक्रबार जथाभावी फोहोर फाल्ने एक जनालाई कारबाही गरी ५० हजार रुपैयाँ जरिवाना तिराएको छ।

    सफा, स्वच्छ र सुन्दर वीरगन्ज महानगर बनाउने अभियानका साथ सरसफाइलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको महानगरले जथाभावी फोहोर फालेर दुर्गन्ध फैलाउनेलाई कारबाही गरेको हो।

    वीरगन्जको बाइपास सडक खण्ड अन्तर्गत नगवाको वैष्णवी मन्दिर नजिकै राङ्गा, भैसीको सडेको हड्डी फालेर दुर्गन्ध फैलाउने शिवपुजन चौरसियालाई महानगरको टोलीले नियन्त्रणमा लिएर ५० हजार रुपैयाँ जरिबाना गरेको हो।

    महानगरले यसअघि वीरगन्जकै सीता अस्पताललाई सडकमा जथाभावी माटो खसाएर फोहोर गरेको भन्दै ५१ हजार रुपैयाँ जरिबाना गरेको थियो।

    महानगरपालिकाले चार महिना यता सडक, पेटी र नालामा फोहोर फाल्ने ३ सय ९० जनालाई कारबाही गरी ९ लाख ६० हजार भन्दा बढि जरिबाना असुल गरिसकेको छ।

    महानगरपालिकाले चार महिनाको अवधिमा शुक्रबारसम्म ३ सय ९० जनालाई कारबाही गरी जरिवाना बापत ९ लाख ६१ हजार ५०५ रुपैयाँ रकम असुल गरेको महानगरको फोहोरमैला व्यवस्थापन शाखाका प्रमुख सरफुदिन मियाँले जानकारी दिए।

    वीरगन्ज शहरलाई सफा र स्वच्छ राख्न सरसफाइ र सौन्दर्यकरण अभियान अन्तर्गत महानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई नगद १ हजारदेखि ५१ हजार रुपैयाँसम्म जरिवाना तिराउँदै आएको छ।

    नगर सफा राख्न वीरगन्ज महानगरले मुख्य तथा सहायक सडकमा ट्र्याक्टर तथा ठेलाबाट दैनिक ३-३ पटक फोहोर संकलन गर्नुका साथै ब्रुमरमार्फत सडकको धुलो बढार्ने काम पनि गरिरहेको छ।

    महानगरका सडक तथा गल्लीमा जथाभावी फोहर फाल्नेसँग जरिवाना तिराउँदै आएको महानगरपालिकाले अब जरिवानासँगै फोहर फ्याक्नेउपर सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने तयारी गरेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार