Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • भोलि उपचुनाव, उपचुनाव हुने क्षेत्रमा गृह मन्त्रालयले दियाे सार्वजनिक बिदा


    शनिबार, बैशाख ९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौँ। प्रतिनिधिसभातर्फ तीन वटा निर्वाचन क्षेत्रमा भोलि आइतबार वैशाख १० गतेका दिन उपचुनावअन्तर्गत मतदान हुँदै छ । बारा-२, चितवन-२ र तनहुँ-१ का मतदाताले प्रतिनिधिसभाका लागि आफ्ना प्रतिनिधि चुन्ने छन् ।

    १ लाख ५ हजार मतदाता रहेको बारा-२ मा ३४ जनाले उम्मेद्वारी दिए पनि मूलतः जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, एमालेका पुरुषोत्तम पौडेल र जनमत पार्टीका शिवचन्द्र कुशहवाबीच प्रतिस्पर्धा हुनेछ । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले गत मंसिरमा काठमाडौं- १ बाट चुनाव हारेका रमेश खरेललाई प्रतिस्पर्धामा उतारेको छ । गत मंसिरमा निर्वाचित जसपा नेता रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि बारा- २ मा उपनिर्वाचन गर्नुपर्ने भएको हो ।

    यसैगरी, मंसिरमै निर्वाचित रास्वपा सभापति रवि लामिछाने नागरिकता प्रकरणमा सर्वोच्च अदालतबाट दोषी ठहर भई सांसद पद खारेज भएपछि चितवन- २ मा उपचुनाव हुन लागेको हो । एक लाख २४ हजार ६ सय ४६ मतदाता रहेको यो निर्वाचन क्षेत्रमा गत मंसिरमा ८३ हजार ९ सय ५६ जनाले मतदान गरेका थिए । यहाँबाट लामिछाने ४९ हजार २ सय ६४ मतसहित निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धीहरू कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९ सय ८३ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ६७ भोट पाएका थिए । दोस्रो भएका श्रेष्ठभन्दा लामिछानेको ३२ हजार २ सय ८१ मत बढी थियो ।

    यसपटक पनि लामिछाने फेरि मैदानमा छन् भने कांग्रेस र एमालेले युवा अनुहारलाई अघि सारेका छन् । यसपालि एमालेले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र कांग्रेसले जिल्लाका पूर्वसभापति जीतनारायण श्रेष्ठलाई प्रतिस्पर्धी बनाएका छन् ।

    यस्तै, तनहुँ- १ को उपनिर्वाचन पनि कम रोचक छैन । गत मंसिर ४ मा यस क्षेत्रबाट चुनाव जितेका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त रहेको स्थानमा ९ जनाले उम्मेदवारी दिएका छन् । तर मुख्य प्रतिस्पर्धाचाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले र नेपाली कांग्रेसका गोविन्द भट्टराईबीच हुने बताइन्छ । यस क्षेत्रबाट एमालेका सर्वेन्द्र खनाल, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मंगोल नेसनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) बाट गणेश श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शोभा गुरुङ र नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार उम्मेदवार छन् ।

    तनहुँ १ लाई खासगरी कांग्रेस नेताहरूले प्रतिष्ठाकै लडाइँ बनाएका छन् । पार्टीका दुवै महामन्त्रीसहित सभापति अनि गठबन्धनका शीर्ष नेता पुगेर भट्टराईलाई भोट मागेका थिए । कांग्रेसबाट रास्वपामा गएर उम्मेदवार बनेका वाग्लेलाई कांग्रेस नेताहरूले प्रमुख प्रतिस्पर्धी मानेका छन् ।

    यसैबीच सरकारले उपचुनाव हुने तीनवटै निर्वाचन क्षेत्रमा भोलि सार्वजनिक बिदा दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार