मधु मरासिनी र वीरबहादुर राई
काठमाडौं । सरकारले पदरिक्त हुँदाहुँदै पनि सचिवलाई पदस्थापन नगरी अतिरिक्तमा विनाजिम्मेवारी राखेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सचिव पद रिक्त छ । प्रधानमन्त्री कार्यालय र कर्णाली प्रदेशको प्रमुख सचिव पनि रिक्त छ । तर सरकारले बढुवा भएका सचिवलाई पदस्थापन पनि नगरी अतिरिक्तमा राखेको छ । बढुवा भएका सचिवलाई करिब एक महिनासम्म पनि विनाजिम्मेवारी राखिएको छ । जिम्मेवारी नै नदिने हो भने सचिव बढुवा नै किन गरियो भन्ने सवाल खडा भएको छ ।
सरकारले मधुकुमार मरासिनीलाई सचिवमा बढुवा गरेको २७ दिन भइसकेको छ । वीरबहादुर राईलाई सचिव बढुवा गरेको पनि आज २० दिन पूरा भएको छ । मरासिनीलाई सरकारले २०७७ साउन १३ मा सचिव बढुवा गरेको थियो भने राईलाई साउन १९ मा पदोन्नाति गरेको थियो । तर मरासिनी र राई दुवैलाई सचिव बढुवा भएको यतिका दिन बितिसक्दा पनि पदस्थापन गरेको छैन । दुवै सचिवलाई अतिरिक्तमा राखिएको छ ।
सचिव राई त पदस्थापन नै नभई अवकाश हुने भएका छन् । उनी २०७७ भदौ १५ मा उमेरहदले अवकाश हुँदैछन् । भदौ ७ सम्म पनि पदस्थापन नभएका सचिव राईको अवधि अब बिदा कटाउँदा ६ दिनमात्र बाँकी छ ।