एजेन्सी। अचेत अवस्थामा अस्पतालमा उपचार भइरहेका भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था स्थिर रहेको छ । हप्ता दिनभन्दा बढी समयदेखि अचेतन अवस्थामा रहनु भएका उनको अवस्थामा कुनै परिवर्तन नआएको अस्पतालले स्पष्ट पारेको छ ।
अस्पतालले शनिबार दिएको जानकारीअनुसार ८४ बर्षीय नेता मुखर्जीको अधिकांश संकेतहरु स्थिर रहेको छ । उनलाई स्वासप्रश्वासमा समस्या भएपछि यही अगस्टको १० तारिखका दिन दिल्लीस्थित आर्मी रिसर्च तथा रिफरल अस्पतालमा भर्ना गरिएको हो । पूर्व राष्ट्रपति मुखर्जीको अवस्था जटिल भएकाले उहाँलाई भेन्टिलेटरमा राखेर उपचार गराइएको छ ।
उहाँको दिमागमा समेत असर परेकाले उनी अहिलेपनि अचेत अवस्थामै रहेका छन् । उनलाई स्वासप्रश्वास सम्वन्धी समस्या देखिएपछि कोरोना परीक्षण गर्दा उनी कोरोनाभाइरसबाट सङ्क्रमित पनि भएको देखिएको थियो ।
“श्री प्रणब मुखर्जीको अवस्था अहिले पनि उस्तै रहेको छ, पहिले जस्तो थियो, त्यसमा आज बिहानसम्म पनि कुनै परिवर्तन आएको छैन,” अस्पतालद्धारा जारी वक्तव्यमा लेखिएको छ । स्वासप्रश्वासमा समस्या भएकाले भेन्टिलेटरको सहयोगमा उहाँलाई स्वासप्रश्वास गराइरहेको पनि अस्पतालले जनाएको छ । नेता प्रणव मुखर्जीले भारतको १३औँ राष्ट्रपतिका रुपमा सन् २०१२ देखि २०१७ सम्म राष्ट्रको नेतृत्व गरेका थिए।