Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा विवाद लेनदेनमै टुंगिने संकेत ?


    शनिबार, भाद्र ६ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । कुनै बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद चर्किएर पार्टी नै फुट्ने अवस्थामा पुगिसकेको थियो । स्पष्ट दुई कित्तामा देखिएका नेकपाका ‘दुई पाइलट’ समूहको अभिव्यक्तिको एउटै आशय थियो अब सँगै अघि सकिँदैन । 

    दुई महिना अघिको सो परिदृश्य अहिले फेरिँदै आएको छ । अहिले भने नेकपाको सबै विवाद लेनदेनमै सिमित हुने देखिएको छ । विशेषगरी दुई अध्यक्षले पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको र सो कार्यदलको सुझाव प्रतिवदेनको आशय पनि लेनदेनमै केन्द्रित रहेको थाहा भएको छ ।

    यसअघि स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहितको समूहले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेको थियो । प्रम ओलीको कार्यशैलीको समेत स्थायी समिति बैठकमा आलोचना भएको थियो । 

    तर पछिल्लो समय भने नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रचण्ड समूह पनि छोडेको र पार्टी नफुटाउन चौतर्फी दबाब आएको भन्दै लेनदेनमै भएपनि पार्टी विवाद समाधानको लागि प्रचण्ड समूह लागेको नेकपा निकट स्रोतले दावी गरेको छ । 

    कार्यदलको सुझाव अनुसार प्रम ओलीले अहिले नै राजीनामा दिनु नपर्ने र स्थायी समिति बैठक अघि बढाउनुपर्ने सुझाव दिएको छ । यस्तै पार्टीको महाधिवेशन पनि चैतकै लागि उपयुक्त हुने सुझाव समेत दिएको छ ।

    नेकपा विवाद जरो भनेकै प्रचण्डलाई नाममात्रको कार्यकारी अध्यक्ष बनाइनु थियो । प्रचण्डको माग पूरा हुनेगरी समेत कार्यदलले सुझाव दिएको छ । अबदेखि सरकार सञ्चालनको नेतृत्व ओलीको र पार्टी सञ्चालनको जिम्मेवारी प्रचण्डको हुने सुझाव दिइएको छ । 

    यस्तैगरी यसअघि मन्त्री नियुक्ती तथा प्रदेशका मुख्यमन्त्री बनाउने क्रममा प्रम ओलीले एकलौटी गरेको निर्णयहरु समेत परिवर्तन गर्न सुझाव दिइएको छ । मन्त्रिमण्डलमा नेता माधव नेपाल र प्रचण्डलाई चार मन्त्री दिने तथा दुई मुख्यमन्त्री फेर्ने गरी सुझाव दिएको नेकपा निकट स्रोतले बताएको छ । 

    यस्तैगरी कोरोना महामारीको अन्त्यपछि मात्रै केन्द्रीय समिति बोलाउन समेत सुझाव दिइएको छ । 

    नेकपा कार्यदलले यही लेखदेनको विषयलाई छलफलबाट सुझावको रुपमा लिखित सहमतिको मार्ग दिएको बुझिएको छ । यसअघि नै दुई अध्यक्षबीच कार्यदलको सुझावलाई मान्ने सहमति भैसकेको छ । 

    यी विषयमा पहिले नै सहमति भएको तर ओलीले यसअघिका सहमति कार्यान्वयन नगरेकाले लिखित सहमति हुनुपर्ने प्रचण्डको माग रहेको थियो । प्रचण्डले मौखिक सहमति नै मानेपनि माधव नेपाल र झलनाथ खनालले लिखित सहमति नभै मान्न नहुने सुझाव दिएका कारण नै कार्यदल गठन गरेको नेकपाका एक नेताले दावी गरे । सहमतिका बुँदा पहिले नै ‘फिक्स’ भैसकेकाले कार्यदलमा प्रचण्ड-नेपाल समूहबाट चार जना सदस्य भएपनि ओलीले मानेको ती नेताले दावी गरे ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार