Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • नक्कली नोट र सुनका कारोबारी इल्ताफलाई छाड्ने न्यायाधीशमाथि कारबाही हुने कि नहुने ?


    शुक्रबार, भाद्र ५ २०७७
    900
    Shares
    Basu Dev Paudel
  • ८ मिनेट पाठ
  • काठमाडौं । न्यायालयबाट भएका पछिल्ला आदेशका बारेमा सडकदेखि सदनसम्म चर्को बिरोध भयो । तर नक्कली भारतीय नोटदेखि अवैध सुनको कारोबारमा संलग्न रहेका इल्ताफ हुसेन अन्सारीलाई सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको आदेश मार्फत् छाडेको खुलासा भएको छ । पाटन पुनरावेदन अदालत(हाल उच्च)ले कसुरदार इल्ताफ हुसेन अन्सारी नै भएको सनाखती मुचुल्कालाई सही ठहर्याए पनि सर्वोच्च अदालतले भने त्यसलाई अमान्य ठहर गरी इल्ताफलाई छाडेको खुलेको छ । इल्ताफलाई पूर्ण इजलासले स्थापित गरेको नजीरकै बिरुद्ध छाड्ने आदेश दिइएको थियो ।

    अन्सारीले आफू इल्ताफ हुसेन अन्सारी भएको भन्दै अल्ताफलाई गरिएको सजायमा आफूलाई भागीदार बनाउन नपाइने दाबी गरेकै आधारमा उनलाई छाडिएको थियो । इल्ताफ हुसेन अन्सारी र अल्ताफ अन्सारी फरक ब्यक्ति भएको र अल्ताफलाई दिएको संजायको भागिदार इल्ताफ नहुने भन्दै न्यायाधीशद्धय ओमप्रकाश मिश्र र विश्वम्भर श्रेष्ठले २०७५ असार २१ गते उनलाई बन्दी प्रत्यक्षीकरणको आदेश मार्फत् रिहा गर्ने आदेश दिएका थिए । मिश्रमाथि एनसेलको लाभकर असुलीदेखि विभिन्न मुद्दामा अरबौं रुपैयाँ असुली रोक्न आदेश दिएर लाभ लिएको आरोप लागेको थियो । उनले नक्कली नोट र सुनका कारोबारी इल्ताफलाई सर्वोच्चद्धारा प्रतिपादित नजीर बिरुद्ध रिहा गर्ने आदेश दिएको खुलेको छ । मिश्र २०७५ भदौ ७ देखि पुस १६ सम्म प्रधानन्यायाधीश भएका थिए ।

    सर्वोच्च अदालतमा स्वच्छ छविका न्यायाधीश भन्न रुचनाउने विश्वम्भर श्रेष्ठले पनि नक्कली नोटका कारोबारी इल्ताफलाई रिहा गर्ने आदेशमा हस्ताक्षर गरेका थिए । सपना प्रधान मल्लले फरक राय राख्ने भएपछि स्थगित भएको र हतार हतार पेशी चढाइएको मुद्दामा उनले हस्ताक्षर गरेकाले पनि उनको स्वच्छ छविमा पनि दाग लाग्न पुगेको छ । श्रेष्ठ सर्वोच्चका भावी प्रधानन्यायाधीशका दाबेदार हुन् ।

    यसअघि जिल्ला अदालत ललितपुरले २०६७ जेठ २६ गते नक्कली नोट कारोबार गरेको आरोपमा दोषी ठहर्याउँँदै बारा भवानीपुर–३ का अल्ताफ अन्सारीलाई ३ वर्ष कैद र २ करोड ६१ लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो । त्यसैका आधारमा प्रहरीले २०७२ जेठ ३० गते ललितपुरको सातदोबाटोबाट इल्ताफ हुसेन अन्सारीलाई पक्राउ गर्यो । आफ्नो नाम इल्ताफ भएको उल्लेख गर्दै उनले अदालतबाट दोषी ठहर भएको व्यक्ति अल्ताफ भएको र त्यो आफू नभई अर्कै भएको भन्दै पुनरावेदन अदालत पाटन र त्यसपछि सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । उनले सेटिङमै सर्वोच्चमा मुद्दा दायर गरेका थिए । दीपकराज जोशी कामु प्रधानन्यायाधीश भएको समयमा मिश्रले इल्ताफको मुद्दामा निकै चासो राखेका थिए । इल्ताफले अल्ताफलाई दिएको संजायको भागीदार आफू भएको दाबी गर्दै बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता गरेलगत्तै मिश्रले यो मुद्दामा निकै चासो दिएका थिए ।

    २०७३ भदौ ६ गते मिश्रसहित न्यायाधीश सपना प्रधान मल्लको इजलासमा उक्त मुद्दा सुनुवाइका लागि पेशी तोकिएको थियोे । त्यस दिनै मिश्रले जसरी पनि इल्ताफलाई छाड्ने आदेश गर्ने तयारी गरेपछि प्रधानले फरक मत राख्ने जनाउ दिइन् । राय नै बाझिने अवस्था आएपछि त्यो दिनको पेशी स्थगित गरिएको थियो ।

    पटकपटक सर्दै आएको त्यो मुद्दा २०७५ जेठ ३१ गते फेरि मिश्रसहित न्यायाधीश केदारप्रसाद चालिसेको इजलासमा पर्यो । चालिसेलाई राखेर मिश्रले त्यही दिन इल्ताफलाई रिहा गर्ने आदेश दिने तयारी गरेका थिए । तर फेरि मिश्रलाई नै इजलास तोकिएपछि महान्यायाधिवक्ता कार्यालयले मुद्दा स्थगितका लागि पत्र पठायो । फेरि २०७५ असार २१ गते मिश्र र श्रेष्ठसहितको इजलासमै मुद्दाको पेसी तोकियो र इल्ताफलाई रिहा गर्न बन्दीप्रत्यक्षीकरणको आदेश जारी भयो । जेठ मसान्तमा स्थगित भएको मुद्दा तीन साता नबित्दै पेशी चढाइएको थियो । इल्ताफको मुद्दाभन्दा अगाडि अरू चारवटा मुद्दा हुँदाहुँदै तिनलाई स्थगित गरी न्यायाधीश मिश्र र श्रेष्ठले उनलाई छाड्ने आदेश दिएका थिए ।

    न्यायालय सेटिङ

    नेपाल प्रहरीले २०७७ साउन १३ गते राजधानीको सुन्धाराबाट साढे १४ किलोग्राम चाँदी, ७ सय ५० ग्राम सुन र २ थान पेस्तोल बरामद गरेको थियो । अनुसन्धानक्रममा त्यसका मुख्य योजनाकार इल्ताफ नै भएको खुल्यो । घटनाको दुई सातापछि साउन २९ मा बाराको जितपुरबाट उनी पक्राउ परे । पक्राउ परेपछि अदालतबाट यसअघि बन्दीप्रत्यक्षीकरणको आदेशमार्फत् इल्ताफ र अल्ताफ फरक ब्यक्ति भएको भन्दै अल्ताफको संजायको भागीदार आफूलाई बनाइएको भन्दै अदालत सेटिङ गरी उनी छुटेको खुलासा भएको हो ।

    इल्ताफलाई छाड्दा सर्वोेच्च अदालतले आफ्नै नजिर र सनाखत मुचुल्कालाई बेवास्ता गरेर नक्कली नोटको कारोबारमा लागेका अन्सारीलाई फरक ब्यक्ति भएको भनी छाडेको थियो । पुनरावेदन अदालतले सही ठहर गरेको सनाखती मुचुल्कालाई सर्वोच्चले अमान्य भन्दै उनलाई छाडेको थियो । ‘प्रहरीले व्यक्तिलाई पक्राउ गर्दा चिन्न दुविधा भएमा एकीन गर्न चिने–जानेको पीडितलगायतका मानिसहरूबाट सनाखत गराउन सक्ने’ सर्वोच्चको पूर्ण इजलासले प्रतिपादन गरेको नजीरकै बिरुद्ध इल्ताफलाई छाडिएको थियो । जबकि पुनरावेदन अदालत पाटनले इल्ताफ भन्ने निवेदक र अल्ताफ अन्सारी भनिएका व्यक्ति अलग अलग नभई एउटै भएको देखिँदा उनलाई दिइएको कैदी पुर्जी कानुनबमोजिमको देखिएकाले गैरकानुनी थुनामा राखिएको भनी दिएको निवेदन खारेज हुने ठहर गरेको थियो ।

     पुनरावेदनले इल्ताफको दाबी अनुसार नछाडेपछि उनले सर्वोच्च अदालतमा पुनरावेदन दिएका थिए । सर्वोच्चमा पुनरावेदन गरेपछि प्रहरीले स्थलगत रूपमा गएर अल्ताफ र इल्ताफ एकै भएको मुचुल्का गराएको थियो । प्रहरीले इल्ताफ र अल्ताफ एउटै ब्यक्ति भएको स्थलगत मुचुल्का ल्याउँदा पनि त्यसलाई सर्वोच्चले अमान्य ठहर गर्दै इल्ताफलाई रिहा गरेपछि यसमा ठूलो रकमको लेनदेन भएको आशंका गर्ने आधारहरु देखिएका छन् ।

    को हुन् अन्सारी ?

    iltaf.jpg

    इल्ताफ हुसेन अन्सारी

    २०७५ असार २१ मा सर्वोच्च अदालतमा बिचौलियामार्फत् न्यायाधीश सेटिङ गरी छुटेका इल्ताफ अन्सारी २ बर्षपछि २०७७ साउन साउन २९ मा पक्राउ परेका छन् । २०७७ साउन १३ मा काठमाडौंमा गाडीबाट सुन, चाँदी र बन्दुकको पोको फाल्ने इल्ताफ नै भएको खुलेपछि उनी पक्राउ परेका थिए । 
    अन्सारी बाराको प्रस्टोखा–२, हरपुरका हुन् । तर उनी अधिंकाश समय वीरगञ्जमा बस्ने गर्छन् । पेम्ट्रोल पम्प सञ्चालकका रुपमा चिनाउन चाहने इल्ताफ नक्कली भारतीय नोटको कारोबारमा संलग्न रहेका थिए । २०६८ असार २८ मा बरामद भएको ५४ लाख ९५ हजार नक्कली भारतीय रुपैयाँ उनकै रहेको भए पनि उनलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन । उक्त नक्कली भारु बरामदपछि फरार इल्ताफलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २०७२ जेठमा पक्राउ गरेको थियो । पछिल्लो पटक ७ करोड ६७ लाख ९४ हजार भारतीय नक्कली नोटसहित समातिएका युनुस अन्सारीसँग पनि उनको निकट सम्बन्ध रहेको प्रहरीको अनुमान छ ।

    युनुसपछि नेपालमा नक्कली भारतीय नोट कारोबार गर्ने व्यक्ति उनी नै रहेको प्रहरीको दाबी छ । प्रारम्भमा युनुसकै समूहमा भए पनि पछिल्लो पटक उनले आफ्नै समूह सञ्चालन गरिरहेका थिए । इल्ताफ र युनुस दुवै बाराकै हुन् ।

    अन्सारीले हरेक अपराधमा फरक–फरक नाम बताएर संलग्न हुने गरेका छन् । त्यही फरक नामको बहाना बनाउँदै उनी सर्वोच्च अदालतबाट छुटेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार