काठमाडौं । भारतबाट आउने तरकारीमा विषादी परीक्षण गर्ने पछिल्लो प्रयासबाट पनि सरकार पछि हटेको छ । तरकारीको मापदण्डसहितको प्रस्ताव करिब ५ महिनाअघि मन्त्रिपरिषद्मा पुगेको थियो, तर ‘भारतसँगको सम्बन्ध बिग्रने’ भन्दै फाइल कृषि मन्त्रालयमा फर्काइएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्यान्न, तेलहन र अन्नमा आधारित पूरक बाल आहार तथा तरकारीको मापदण्ड तोक्ने र त्यहीअनुसार भन्सार बिन्दुमा परीक्षण गर्ने प्रस्ताव तयार पारेको थियो । खाद्यान्न, दलहन तथा त्यसबाट बनेका पदार्थको गुणस्तरसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भई राजपत्रमा प्रकाशित भइसकेको छ । तरकारीको गुणस्तरसम्बन्धी मापदण्ड राजपत्रमा आएन ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले आयातित तरकारीको गुणस्तर जाँचसम्बन्धी फाइल फिर्ता आएको पुष्टि गरे । ‘कृषि मन्त्रालय हुँदै फाइल मन्त्रिपरिषद्मा पेस गरिएको थियो, अन्य खाद्यान्नको प्रस्ताव स्वीकृत भए पनि तरकारीको प्रस्ताव फिर्ता आएको छ,’ उनले भने ।
भारतबाट आउने तरकारी परीक्षण गर्दा ‘जीवनाशक विषादीको अवशेष’ भेटिने र त्यस्तो अवस्थामा तरकारी रोकिने भएकाले अहिले यो मापदण्ड लागू गर्न सरकार पछि हटेको हो । ‘भारतसँगको व्यापारिक सम्बन्धमा प्रत्यक्ष प्रभाव पर्ने देखियो । त्यसैले अहिले यो मापदण्ड लागू नगर्ने जानकारी आएको छ,’ कृषि मन्त्रालयका एक अधिकारीले भने ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार तरकारी, फलफूल तथा अन्य बालीमा करिब ३० समूहका विषादी प्रयोग हुने गरेका छन् । तर, त्यसको कति मात्रा प्रयोग भएको छ भन्ने जाँच नै नगरी भारतबाट आयात गरेर सिधै बजारमा पठाउने गरिएको छ । भारतसँगको सम्बन्ध बिग्रने भन्दै सरकारले जनताको स्वास्थ्य बिगार्ने नीति लिएको छ ।
यसअघि केपी ओली नेतृत्वको सरकारका पाला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७६ असार २ देखि भन्सार बिन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादी अवशेष परीक्षण सुरु गरेको थियो । तर, नेपाल सरकारको कदमले ‘आफ्ना व्यवसायीलाई अप्ठेरो परेको’ जनाउँदै भारतीय दूतावासले असार १४ मा परराष्ट्र मन्त्रालयलाई दबाबमूलक पत्र पठाएको थियो । दूतावासको दबाबपछि सरकार परीक्षण गर्ने निर्णयबाट असार १८ मा पछि हटेको थियो । पर्याप्त प्रयोगशाला र स्पष्ट मापदण्ड पनि नबनेको कारण देखाउँदै परीक्षण स्थगित गरिएको थियो ।
लगत्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकै पहल र कृषि मन्त्रालयको प्रस्तावमा सरकारले २०७७ मंसिर १५ मा तरकारी तथा फलफूलमा विषादीको अवशेषको सीमा तोक्न आदेश दिएको थियो ।
मन्त्रिपरिषद्ले आदेश दिएपछि स्याउ, केरा, करेला, भन्टा, बन्दा, कोभी, भिन्डी, आलु, टमाटर र चियामा विषादीको मात्रा निर्धारण गर्ने बाटो खुलेको थियो । विभागले जीवनाशक विषादी अवशेषको अधिकतम सीमा (म्याक्सिमम रेजिड्यु लिमिट–एमआरएल) निर्धारण गरे पनि मापदण्ड लागू भएको छैन ।
‘बिहान–बेलुका उपभोग हुने तरकारीमा विषादी कुन मात्रामा छ भन्ने नजाँची बिक्री गर्नु गलत हो,’ अर्थविद् केशव आचार्य भन्छन्, ‘भारतमा बढी विषादी पनि प्रयोग गरिन्छ । यसले गर्दा कम गुणस्तर र विषादीको डम्पिङ साइट बनिरहेको छ ।’ तर, मापदण्ड लागू गराउने फाइल फिर्ता गर्नु नेपाली किसान र उपभोक्तामाथि घात भएको उनको भनाइ छ ।
कृषि मन्त्रालयका अनुसार मुलुकमा करिब २ लाख ८४ हजार १ सय २१ हेक्टर जमिनमा तरकारी खेती गरिन्छ, जसबाट वार्षिक ३९ लाख ९३ हजार मेट्रिक टन हरियो तरकारी उत्पादन हुन्छ । तर, भारतबाट विषादीयुक्त तरकारी निर्बाध रूपमा आयात भइरहेको छ भने यता आफ्नो उत्पादनले बजार नपाउँदा निराश नेपाली किसानले उत्पादन सडकमा फाल्दै आएका छन् ।
काठमाडौँ। पशु सेवा विभागले पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएको दावी गरेको छ। काठमाडौँलगायत विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका...
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशुसेवा विभागलाई ५० करोड निकासा गरेको छ । मन्त्रालयले बर्डफ्लु...
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ । किसानलाई...
काठमाडौं । काठमाडौं महानगरपालिका –३, बाँसबारीको कपनमार्गमा बसोबास गर्ने एक विमान चालक (पाइलट) बिनाअनुमति अन्य ठाउँबाट स्थानन्तरण गरिएको स्कूल उक्त ठाउँबाट हटाउन महाभारतको युद्ध...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend