काठमाडौं । भारतबाट आउने तरकारीमा विषादी परीक्षण गर्ने पछिल्लो प्रयासबाट पनि सरकार पछि हटेको छ । तरकारीको मापदण्डसहितको प्रस्ताव करिब ५ महिनाअघि मन्त्रिपरिषद्मा पुगेको थियो, तर ‘भारतसँगको सम्बन्ध बिग्रने’ भन्दै फाइल कृषि मन्त्रालयमा फर्काइएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्यान्न, तेलहन र अन्नमा आधारित पूरक बाल आहार तथा तरकारीको मापदण्ड तोक्ने र त्यहीअनुसार भन्सार बिन्दुमा परीक्षण गर्ने प्रस्ताव तयार पारेको थियो । खाद्यान्न, दलहन तथा त्यसबाट बनेका पदार्थको गुणस्तरसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भई राजपत्रमा प्रकाशित भइसकेको छ । तरकारीको गुणस्तरसम्बन्धी मापदण्ड राजपत्रमा आएन ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले आयातित तरकारीको गुणस्तर जाँचसम्बन्धी फाइल फिर्ता आएको पुष्टि गरे । ‘कृषि मन्त्रालय हुँदै फाइल मन्त्रिपरिषद्मा पेस गरिएको थियो, अन्य खाद्यान्नको प्रस्ताव स्वीकृत भए पनि तरकारीको प्रस्ताव फिर्ता आएको छ,’ उनले भने ।
भारतबाट आउने तरकारी परीक्षण गर्दा ‘जीवनाशक विषादीको अवशेष’ भेटिने र त्यस्तो अवस्थामा तरकारी रोकिने भएकाले अहिले यो मापदण्ड लागू गर्न सरकार पछि हटेको हो । ‘भारतसँगको व्यापारिक सम्बन्धमा प्रत्यक्ष प्रभाव पर्ने देखियो । त्यसैले अहिले यो मापदण्ड लागू नगर्ने जानकारी आएको छ,’ कृषि मन्त्रालयका एक अधिकारीले भने ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार तरकारी, फलफूल तथा अन्य बालीमा करिब ३० समूहका विषादी प्रयोग हुने गरेका छन् । तर, त्यसको कति मात्रा प्रयोग भएको छ भन्ने जाँच नै नगरी भारतबाट आयात गरेर सिधै बजारमा पठाउने गरिएको छ । भारतसँगको सम्बन्ध बिग्रने भन्दै सरकारले जनताको स्वास्थ्य बिगार्ने नीति लिएको छ ।
यसअघि केपी ओली नेतृत्वको सरकारका पाला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७६ असार २ देखि भन्सार बिन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादी अवशेष परीक्षण सुरु गरेको थियो । तर, नेपाल सरकारको कदमले ‘आफ्ना व्यवसायीलाई अप्ठेरो परेको’ जनाउँदै भारतीय दूतावासले असार १४ मा परराष्ट्र मन्त्रालयलाई दबाबमूलक पत्र पठाएको थियो । दूतावासको दबाबपछि सरकार परीक्षण गर्ने निर्णयबाट असार १८ मा पछि हटेको थियो । पर्याप्त प्रयोगशाला र स्पष्ट मापदण्ड पनि नबनेको कारण देखाउँदै परीक्षण स्थगित गरिएको थियो ।
लगत्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकै पहल र कृषि मन्त्रालयको प्रस्तावमा सरकारले २०७७ मंसिर १५ मा तरकारी तथा फलफूलमा विषादीको अवशेषको सीमा तोक्न आदेश दिएको थियो ।
मन्त्रिपरिषद्ले आदेश दिएपछि स्याउ, केरा, करेला, भन्टा, बन्दा, कोभी, भिन्डी, आलु, टमाटर र चियामा विषादीको मात्रा निर्धारण गर्ने बाटो खुलेको थियो । विभागले जीवनाशक विषादी अवशेषको अधिकतम सीमा (म्याक्सिमम रेजिड्यु लिमिट–एमआरएल) निर्धारण गरे पनि मापदण्ड लागू भएको छैन ।
‘बिहान–बेलुका उपभोग हुने तरकारीमा विषादी कुन मात्रामा छ भन्ने नजाँची बिक्री गर्नु गलत हो,’ अर्थविद् केशव आचार्य भन्छन्, ‘भारतमा बढी विषादी पनि प्रयोग गरिन्छ । यसले गर्दा कम गुणस्तर र विषादीको डम्पिङ साइट बनिरहेको छ ।’ तर, मापदण्ड लागू गराउने फाइल फिर्ता गर्नु नेपाली किसान र उपभोक्तामाथि घात भएको उनको भनाइ छ ।
कृषि मन्त्रालयका अनुसार मुलुकमा करिब २ लाख ८४ हजार १ सय २१ हेक्टर जमिनमा तरकारी खेती गरिन्छ, जसबाट वार्षिक ३९ लाख ९३ हजार मेट्रिक टन हरियो तरकारी उत्पादन हुन्छ । तर, भारतबाट विषादीयुक्त तरकारी निर्बाध रूपमा आयात भइरहेको छ भने यता आफ्नो उत्पादनले बजार नपाउँदा निराश नेपाली किसानले उत्पादन सडकमा फाल्दै आएका छन् ।
२०१३ साल जेठ २९ गते गजुरी गाउँपालिका–८ धादिङमा जन्मनुभएका राजेन्द्रप्रसाद पाण्डे नेपाली कम्युनिस्ट पार्टीका नेता हुनुहुन्छ । बुवा नेत्रराज पाण्डे र आमा मनमाया पाण्डेका...
काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका अन्यत्र बसोबासको विकल्प नभएका परिवारलाई पुनःस्थापना गर्न २७७ कित्ता जग्गा पहिचान गरी सिफारिस भएको...
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा वैज्ञानिक कर्मचारीको तलब संरचनामा देखिएको गम्भीर असमानताले वैज्ञानिक समुदायमा असन्तुष्टि बढ्दै गएको छ । एउटै संस्थामा...
शिवकुमार थापा काठमाडौं । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको महाबिनासकारी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर लगायतका सडकमार्ग अवरुद्ध भएपछि ग्यास उद्योगीहरूले मौका छोपेर प्रतिसिलिन्डर...
काठमाडौँ। बलिउड अभिनेता सोनु सूद नेपाल आएका छन्। उनी मंगलबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन्। भोटेकोसी बाढी प्रभावितलाई सहयोग गर्न उनी राहत सामग्री बोकेर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend