Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जन्ममिति ढाँटेर जागिर खाएका ज्ञवाली र ढकालबिरुद्ध उजुरी, दाजु आइजीपी हुँदा नागरिकता नै गायब पारे


    आइतबार, फाल्गुन १४ २०७९
    5.9K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीमा उमेर ढाँटेर जागिर खाएको बिषय प्रमाणसहित सार्वजनिक भएपछि डीआईजी अशोक सिंहले त राजीनामा दिइसकेका छन् । यसरी उमेर ढाँटेर जागिर खाने अन्य डीआईजीहरुले भने अझै पनि राजीनामा दिएका छैनन् । उनीहरु एआइजीमा बढुवा हुन धाइरहेका छन् । उमेर ढाँटेर जागिर खानेमा प्रदेश १ का डीआईजी श्यामलाल ज्ञवाली र कर्णाली प्रदेशका भीमप्रसाद ढकालको नामसमेत आएको छ ।

    ज्ञवाली र ढकालले त प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाबाटै आफ्नो उमेर खुल्ने नागरिकताको कपी समेत गायब पारेको आरोप छ । श्याम ज्ञवालीले उनका दाजु ठाकुरप्रसाद ज्ञवाली ४ महिना २४ दिन नेपाल प्रहरीको महानिरीक्षक हुँदा कर्मचारी प्रशासनका एसपी जनार्दन जीसीको सहयोेगमा नागरिकताको कपी गायब पारेको स्रोत बताउँछ । स्रोतका अनुसार भीमप्रसाद ढकालले पनि आफ्नो नागरिकतामा उमेर खुल्ने र त्यस उमेरका आधारमा एसएसपीबाटै अवकाश हुनुपर्ने भएपछि अभिलेख नै गायब पारेका छन् ।

    ठाकुरप्रसाद ज्ञवाली २०७६ माघ २८ देखि २०७७ असार २४ सम्म आइजीपी भएका थिए । सोही समयमा उनका सहोदर भाइ श्याम ज्ञवालीले कर्मचारी प्रशासन शाखाबाट आफ्नो अभिलेख गायब पार्न लगाएका थिए । त्यो समयमा प्रहरीको कर्मचारी प्रशासन शाखाको प्रमुख एसपी जनार्दन जीसी थिए ।

    डीआईजी ज्ञवालीको नागरिकतामा जन्ममिति वि.सं २०२४ चैत्र २१ गते रहेकाले उनको डीआईजी बढुवा नै बदर हुने देखिन्छ । नेपाल प्रहरीको सिटरोलमा ज्ञवालीको जन्ममिति वि.सं २०२५ भदौ २६ गते छ । भीमप्रसाद ढकालको नागरिकतामा जन्ममिति २०२४ मंसिर २८ रहेको छ । दुवै डीआईजीले उमेर ढाँटेर जागिर खाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आवश्यक अनुसन्धान गर्न माग गर्दै आइतबार शेरबहादुर चन्दले अख्तियारमा उजुरी दिएका छन् ।

    उजुरीमा उल्लेख छ–डीआईजी श्यामलाल ज्ञवालीले सरकारी निकायलाई भ्रममा पारेर नेपाली नागरिकताको प्रमाणपत्रमा उल्लेख भएको वास्तविक उमेर भन्दा कम उमेर देखाएर जागिर खाइरहेका छन् । प्रहरीमा जागिर खानकै लागि पहिले जारी नागरिकतामा उमेर सच्याएर गैरकानुनी तरिकाले नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा नियुक्ति लिएका थिए । ‘अतः ज्ञवालीले कृषि विकास बैंकमा जारि गर्दा पेश गरेको नागरिकता, उनले प्रहरी सेवामा प्रवेश गर्दा पेश गरेको नागरिकता, सिट रोलमा उल्लेख गरेको जन्ममिति, शैक्षिक प्रमाणपत्रमा उल्लेख भएको जन्ममिति लगायतको सूक्ष्म अनुसन्धान गरी पाऊँ ।’

    ज्ञवाली विसं २०४९ वैशाख १९ गते नियुक्ति लिएका प्रहरी निरीक्षक ब्याज नं ९८ सँगै आवेदन भरे पनि लिखित परीक्षामा अनुत्तीर्ण भएका थिए । त्यसलगत्तै विसं २०५० साल मंसिरमा प्रकाशित प्रहरी निरीक्षकको विज्ञापनमा उनले आवेदन दिएका थिए । तर, सो पदमा योग्य हुन २० वर्ष पूरा भएको र २५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था थियो । तर, नागरिकता अनुसार ज्ञवाली २५ वर्ष पूरा भइसके पनि आवेदन दिएर प्रहरी सेवामा प्रवेश गरेको उजुरीमा जिकिर गरिएको छ । ज्ञवालीले वि।सं २०५१ चैत्र ५ गते प्रहरी निरीक्षकको रुपमा स्थायी नियुक्ति लिएका थिए ।

    ‘सो विज्ञापनमा योग्य उम्मेदवार हुन जन्ममिति २०२५ वैशाख १ वा सो भन्दा पछिको जन्ममिति भएको उम्मेदवार योग्य हुन्छ । तर ज्ञवालीको उमेर नागरिकतामा २०२४।१२।२१ उल्लेख गरिएको छ’ उजुरीमा उल्लेख छ, ‘नागरिकतामा उनको पूरा जन्ममिति खुलिसकेको अवस्थामा के कसरी निजले सो तथ्यलाई लुकाई जन्ममिति २०२५।५।२६ उल्लेख गरे ? कानुनतः योग्य नै नभएका निजले के कसरी प्रहरी सेवामा प्रवेश पाए ? यस सम्बन्धमा विस्तृत अनुसन्धान गरी कानुन बमोजिम कारवाही गरी पाऊँ ।’

    डीआईजीद्वय ज्ञवाली र ढकाल कर्मचारी प्रशासन शाखामा गोप्य रहने ब्यक्तिगत विवरणबाट नागरिकतासहित गायब पारेर एआइजी बढुवा हुने दाउमा छन् । ज्ञवाली त रवि लामिछाने गृहमन्त्री भएपछि उनको निकट भएर प्रदेश १ मा सरुवा भए । र, लामिछाने गृहमन्त्रीमै कायम रहेको भए उनी पहिलो वरियतामा एआइजीपी हुने र आईजीपी नै हुनेगरी अगाडि बढेका थिए । लामिछानेले आफ्नो भिटो प्रयोग गरी उनलाई प्रदेश १ मा सरुवा गरेका थिए । लामिछानेको पार्टीका म्यानपावर ब्यवसायी केन्द्रीय सदस्य देवेन्द्र बजगाईमार्फत् उनले सेटिङ मिलाइसकेका थिए ।

    प्रहरीका एक अधिकारीको प्रश्न छ–प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा गोप्य रहने ब्यक्तिगत विवरणबाट ज्ञवाली र ढकालको अभिलेख कसरी गायब भयो ? यस बिषयमा प्रहरी प्रधान कार्यालयले छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने हो । अभिलेख नै गायब पारेको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत त्यसमा संलग्नहरुमाथि छानबिन गर्नुपर्ने देखिन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार