सप्तरी । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहकी केन्द्रीय सदस्य ४१ वर्षीया उमा भुजेललाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ । भुजेलसँगै चन्द समूहका अर्का नेता ३१ वर्षीय सुमनसिंह पौडेल पनि पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी तिलक भारतीका अनुसार इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले भारदहमा प्रहरीसँग अभद्र गरेको व्यवहारमा उनीहरूविरुद्ध मुद्दा चलाएको छ ।
अन्तरिम व्यवस्थापिकामा विधायक समेत बनेकी चन्द समूहका पूर्व पोलिटब्यूरो सदस्य भुजेल र नेता पौडेललाई जिल्ला अदालत सुनसरीले मङ्गलबार पुर्पक्षका लागि साधारण तारखेमा रिहा गरेको थियो । नेपाल सरकारले चन्द समूहको नेकपामाथि २०७५ फागुन २८ गतेदेखि प्रतिबन्ध लगाएको छ ।