काठमाडौं । कोरोना संक्रमण थप फैलन नदिनका लागि जारी भएको निषेधाज्ञा झन् कडा बनाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा यसअघिको लकडाउन भन्दा कडा बनाइएको छ ।
तर निषेधाज्ञाको उल्लंघन गर्न खोज्नेको संख्या पनि बढिरहेको छ । आज उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा उल्लंघन १ हजार १ सय ७० जना कारबाहीमा परेका छन् ।
महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलका अनुसार निषेधाज्ञा उल्लंघन गर्नलाई दुई घण्टा सडकमा होल्ड गरिएको छ । बिहीबारबाट अहिले एक साताको लागि निषेधाज्ञा जारी गरिएको हो ।
यस्तै निषेधाज्ञा तोड्दै चलाइएका ४ सय १५ वटा दुई पांग्रे र १ सय ७९ वटा चार पांग्रे सवारीसाधान पनि कारबाहीमा परेका छन् । कारबाहीमा परेका सवारीलाई भने होल्ड गरिएर चालकलाई फर्काइएको छ ।
ती सवारीलाई साँझ ५ बजेपछि मात्रै छोडिने बताइएको छ ।