कास्की । पछिल्लो समय पोखरा क्षेत्रमा पनि कोरोना भाइरसको संक्रमण समुदायमा फैलिएको छ । केही संख्यामा देखिँदै आएका कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै पोखरामा पनि समुदायमै कोरोना फैलिएको पत्ता लागेको हो।
पोखरा-५ मालेपाटनका एकै परिवारमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि सोही परिवारकी सहकारीमा काम गर्दै आएकी युवतीमा देखिएको कोरोना कन्ट्याक्ट ट्रेसिङको क्रममा पूरै परिवारमा देखिएको हो । ती युवतीमा साउन २४ मा कोरोना पुष्टि भएको थियो । ती युवतीमा संक्रमण देखिएसँगै परिवारका अन्य १० जनामा समेत कोरोना देखिएको थियो ।
बिहीबार सोही परिवारका दुई बालबालिकामा कोरोना पुष्टि भएको हो । सो परिवारका एकजना भने कोरोना मुक्त भइ डिस्चार्ज भैसकेका छन् । अन्यको भने लेखनाथ सामुदायिक अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ।