काठमाडौं । म्युजिक भिडियो बनाउँदा राष्ट्रिय झण्डा जलाउने समूहलाई प्रहरीले ‘राज्यविरुद्धको कसुर’मा मुद्दा चलाउने भएको छ।
गायक ग्याल्जेन दोर्जे तामाङसहितकको समूहले म्युजिक भिडियो देशद्रोही बनाउँदा राष्ट्रिय झण्डा जलाएका थिए। त्यसमा संलग्न १० जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ।
उनीहरुमाथि राज्यविरुद्धको कसुरमा मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। त्यसमा थप अनुसन्धान लागि हिरासतमा राख्न म्याद थप गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता सोमेन्द्रसिंह राठौरले बताए।
बुधबार दिउसो नौ जनालाई पक्राउ गरिएको थियो। त्यही समूहमा संलग्न शान्तबहादुर योञ्जनलाई बुधबार साँझ भक्तपुरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
उनीहरुले मकवानपुरमा म्युजिक भिडियो छायांकन गरेका थिए। जसमा राष्ट्रिय झण्डा जलाइएको थियो।
यो भिडियो युट्युब च्यानल मंगोल हप अफिसियलबाट सार्वजनिक गरिएको थियो। भिडियो सार्वजनिक भएपछि विवाद उत्पन्न भएको हो।