Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ठाँटीकाँध र नौमूलेमा पहिराले घर पुरिंदा तीनको निधन


    बुधबार, भाद्र ३ २०७७
    830
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • दैलेख । लगातार परेको बर्षतसँगै आएको बाढीपहिरोसँगै  दैलेखमा एकै दिन तीन जनाले ज्यान गुमाएका छन् । प्राकृतिक विपत्तिमा परेर एक जना बेपत्ता भएका छन् ।

     ठाँटीकाँध गाउँपालिका वडा नं ४ गैरागाउँमा मङ्गलबार राति आएको पहिराले घर पुरिँदा ११ वर्षीय जनक कठायतको मृत्यु भएको छ भने अन्दाजी १२ वर्षीय  लोकेश कठायत बेपत्ता भएका छन् । यस्तै भगवतीमाई गाउँपालिका –५ कट्टीमा लगातारको वर्षात्सँगै  घर भत्किँदा बलबहादुर रावतको मृत्यु भएको छ । अन्य परिवार अलग घरमा सुतेको र बलबहादुर मात्रै सुतेको घर पहिराले पूरै पुरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

     नौमूले गाउँपालिका वडा नं ५ भित्रीखोला छेउमा खोलाले बगाएर मृत्यु भएका एक पुरुषको शव फेला परेको छ  । मृत्यु हुनेमा नौमूले– ४ बस्ने २१ वर्षीय भविलाल बुढा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख हरिबहादुर ओलीले जानकारी दिनुभयो ।

    बुढाको मृत्यु खोलाले बगाएर नभई हत्या गरिएको हुन सक्ने जनाउँदै आफन्तले घटनाको विस्तृत छानबिन गरिदिन माग गरेका छन् । कालिका बजारबाट घर जान्छु भनेर जानुभएका उहाँको घरभन्दा करीब दुई घण्टा तल खोला किनारमा शरीरमा कपडा नभएका अवस्थामा शव भेटिएको थियो । टाउको र अन्य भागमा चोट देखिएको छ । घटनास्थल मुचुल्का गरिएको छ । शव परीक्षणका लागि स्वास्थ्य कार्यालय दैलेख  ल्याउँदै गरिएको छ । नौमूले प्रहरीले घटनाको विस्तृत अनुसन्धान गर्ने बताएको छ ।

    राजमार्ग अवरुद्ध

    लगातारको वर्षात्सँगै कर्णाली राजमार्गको दैलेखखण्ड अवरुद्ध भएको छ । सदरमुकाम दैलेख बजारदेखि विभिन्न पालिका जोड्ने सडक अवरुद्ध छन् । पालिकाले वडास्तरसम्म निर्माण गरेका अधिकांश सडक अवरुद्ध भएका छन् । कर्णाली राजमार्गमा पर्ने रामाघाट बजार डुबानमा पर्ने खतरा भएपछि मङ्गलबार राति नै बस्ती उठाइएको छ ।

    राति नै रामाघाट बजारमा बसोबास गर्नेहरुलाई प्रहरीले उद्धार गरेको हो । हरेक वर्ष कर्णालीमा बहाव बढेसँगै रामाघाट बजार नजीक बग्ने रामाघाट खोला थुनिने र  खोला नजीकै रहेको बजार जोखिममा पर्दै आएको छ । सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्न हरेक वर्ष कुरा उठे पनि दिगो समाधानका लागि भने अहिलेसम्म काम भएको छैन । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार