काठमाडौं। चीनमा निर्माण भइरहेकाे कोरोना भाइरस भ्याक्सिनको पेटेन्टले स्वीकृति पाएकाे छ। चिनियाँ भ्याक्सिन कम्पनी क्यान्सिनो बायोलिजिक्स कर्पोरेशनले निर्माण गरिरहेको कोरोना भ्याक्सिन ‘एडि५-एनकोभ’ ले पेटेन्टका लागि स्वीकृति पाएकाे हाे।
क्यान्सिनो बालोलोजिक्स इन्कर्पोरेट कोरोनाभाइरस भ्याक्सिनको पेटेन्ट हासिल गर्ने पहिलो कम्पनी बनेसँगै चीनमा खुसयाली मनाइएकाे समाचार जनाइएकाे छ। रोयटर्सले स्थानीय मिडियाकाे समाचारलाइ अाधार बनाइ लेखेकाे छ,’क्यान्सिनोको एडी ५ एनसीओभी भ्याक्सिनको पेटेन्टले स्वीकृति पाएको हो।’
चीनको बौद्धिक सम्पदा नियामक संस्थाले ११ अगस्टमा क्यान्सिनोले निर्माण गरिरहेको भ्याक्सिनलाई पेटेन्टको अनुमति दिएको हो। चीनले कोभिड-१९ विरूद्धको खोपका लागि अनुमति दिएको यो पहिलोपटक हो। तर यसलाई वैज्ञानिक उपलब्धीभन्दा बढी व्यवसायिक उपलब्धी मानिएको छ।
यो भ्याक्सिनमा कोरोना भाइरसविरूद्ध प्रतिरोधी क्षमता बढाउनका लागि एडेनोभाइरस (रूघाखोकी र सामान्य संक्रमण पैदा गर्ने भाइरस) को प्रयोग गरिएको छ।
साउदी अरबले भने क्यान्सिनोले छिटै नै तेस्रो चरणको ट्रायल गर्ने योजना बनाइरहेको बताएको थियो। क्यान्सिनोले भने तेस्रो चरणको ट्रायलका लागि रूस, ब्राजिल र चिलीसँग कुरा भइरहेको बताएको छ।
पेटेन्ट दर्ता भएको खबर सार्वजनिक भएसँगै हङकङमा क्यान्सिनोको शेयर मूल्य सोमबार १४ प्रतिशतले बढेको छ । शांघाइमा कम्पनीको शेयर मूल्यमा ६.६ प्रतिशत उछाल देखिएको छ । क्यान्सिनोको यो भ्याक्सिन रुघाखोकीको भाइरसमा परिवर्तन गरेर तयार गरिएको हो । यही विधिबाट अक्सफोर्डको भ्याक्सिन पनि तयार गरिएको हो । सुरुवाती ट्रायलमा यसका कुनै साइड इफेक्ट देखिएका थिएनन् र भ्याक्सिन एन्टिबडी र टी सेल उत्पादन गर्न सक्षम देखिएको थियो ।