काठमाडौं । नेपालको राष्ट्रिय झण्डा जलाउँदै गीत बनाउने समूहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । सो समूहका इसाक लिम्बूलाई प्रहरीले मंगलबार नै नखिपोटबाट पक्राउ गरेको थियो । अन्य पाँचजनालाई पनि प्रहरीले पक्राउ गरेको हो ।
सोमबार ‘मंगोल हप अफिसियल’ नाम च्यानलले युट्युबबाट अपलोड गरेको हो। ‘देशद्रोही’ बोलको भिडियो हालेको थियो। प्रहरीले गायक ग्लालेन दोर्जे तामाङलाई केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले भगवानपाउँबाट नियन्त्रणमा लिएको हो।
सो म्युजिक भिडियो मकवानपुरको बागमती गाउँपालिकामा सुटिङ गरेको पाइएको प्रहरीले जनाएको छ। मंगोल हप नामक सो समूहले सामाजिक विद्वेष फैलाउने तथा अन्य जातका व्यक्ति विरुद्ध घृणा फैलाउने गरी भिडियो बनाएका कारण पक्राउ गरिएको प्रहरीले जनाएको छ । सो समूहको गीतमा नेपालको राष्ट्रिय झण्डासहित पूर्व प्रधानमन्त्रीको समेत फोटो जलाइएको थियो ।
पक्राउ परेकालाई प्रहरीले मुलुकी अपराध संहिता २०७४ को दफा १५१ (१) अनुसार मुद्दा चलाउने भएको छ । यस्तो कसुरमा ३ वर्ष कैद वा ३० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।