काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ५ सय ८१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा संक्रमितको संख्या ह्वात्तै बढेको हो ।
यी मध्ये १ सय ७३ महिला र ४ सय ८ पुरुष रहेका छन् । हालसम्म देशभर कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ ।
यस्तै सोमबार देशभरका विभिन्न अस्पतालबाट १ सय ६० जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १७ हजार ४९५ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुने दर ६४.२ प्रतिशत रहेको छ । आइतबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १० हजार ६३९ रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट ११ हजार ५२० जनाको पीसीआर परीक्षण गरिएको हो । हालसम्म जम्मा ५ लाख २९ हजार ४२७ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका विभिन्न अस्पतालका आइसोलेसनमा रहेका व्यक्तिहरुको संख्या ७ हजार ३८ छन् । दुई हजार ६०१ जना होम आइसोलेसनमा रहेका छन् । आजसम्म देशभर १५ हजार १९८ जना क्वारेन्टिनमा रहेका छन् ।