काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले नेपाल-भारत नाकामा कडाई गरेको बताएका छन् । कोरोना संक्रमण फैलिरहेको अवस्थामा पनि भारतबाट लुकिछिपी आउने क्रम बढेको भन्दै यसलाई रोक्न कडाई गरेको उनको भनाई छ ।
सरकारले भारतबाट नेपाल प्रवेश गर्ने नाका १० वटा मात्रै खुल्ला गरेको छ । यसअघि २० वटा नाका खोलेको सरकारले भारतमा कोरोना संक्रमितको संख्या बढिरहेका यी नाकामा कडाई गर्ने भएको हो ।
‘धेरै हदसम्म नियन्त्रण गरेको छ, तर केही मात्रामा लुकीछिपी आउने काम भइरहेको छ । यसलाई पूर्ण बन्द गर्ने हाम्रो प्रयास जारी छ’, गृहमन्त्री बादलले भने ।
त्यस्तै गृहमन्त्री बादलले कोरोना संक्रमणबाट जोगिन नागरिक सचेत हुनुपर्ने बताएका छन् । उनले सरकारले मात्र गरेर कोरोना नियन्त्रण नहुने भएकाले नागरिक सजग हुनुपर्ने बताए ।
‘नागरिकको सचेतताले मात्रै कोरोनाको संक्रमणलाई हामीले रोक्न सक्छौं । सरकारले मात्रै गरेर कोरोनाको रोकथाम गर्न सकिन्न,’ उनले भने ।