काठमाडौं । भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५० हजार नाघेको छ ।
गएको २४ घण्टामा ९ सय ५० जनाको ज्यान गएसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५० हजार ९९ पुगेको वर्ल्डोमिटरले जनाएको छ । भारतको स्वास्थ्य मन्त्रालयले भने अहिलेसम्म ४९ हजार ९ सय ८० जनाको मात्रै ज्यान गएको पुष्टि गरेको छ ।
वर्ल्डोमिटरका अनुसार आज यो खबर तयार पार्दासम्म १५ जनाको ज्यान गइसकेको छ भने एक हजार २ सय ९३ जना नयाँ बिरामी थपिएका छन् । यस्तै सङ्क्रमित धेरै भएका देशको सूचीमा तेस्रो स्थानमा रहेको भारतमा संक्रमितको संख्या २५ लाख ९० हजार नाघेको छ ।
१८ लाख ६२ हजार भने उपचारपछि निको भएका छन् । अहिले विश्वका विभिन्न देशमा गरी कोरोना संक्रमितको संख्या २ करोड १६ लाख छ । जसमध्ये १ करोड ४३ लाख उपचारपछि निको भएका छन् । ७ लाख ६८ हजारको भने ज्यान गएको छ ।