Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कालोबजारी भैरेहेको ‘रेमदिसिभिर’ अब वैध रुपमा भित्रिने


    आइतबार, साउन ३२ २०७७
    995
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • काठमाडौं । कोरोना संक्रमितको उपचारमा प्रयोग भैरहेको रेमदिसिभर औषधि नेपालमा वैध रुपमा भित्रिने भएको छ। खोपको रुपमा प्रयोग गरिने यो औषधिले कोरोना संक्रमितको रोग प्रतिरोधी क्षमता बढ्ने बताइएको छ । 

    यो औषधिको पूर्ण परीक्षण नभएपनि पछिल्लो समय भारत तथा बंगलादेश लगायतका देशले संक्रमितलाई यो औषधि प्रयोग गरिरहेको छ । पछिल्लो समय विराट मेडिकलका सञ्चालक डा. ज्ञानेन्द्र कार्कीमा कोरोना संक्रमण हुँदा पनि यो औषधि प्रयोग गरिएको थियो । उनले हवाईजहाज चार्टर गरेर रेमदिसिभर मगाएका थिए । रेमदिसिभरसँगै उनलाई प्लाज्मा थेरापी पनि दिएपछि उनको स्वास्थ्य अवस्था सामान्य भएको थियो । 

    उनीबाहेक अन्य संक्रमितमा पनि यो औषधि प्रयोग भैरहेको छ । विशेषगरी वीरगञ्जलगायत सीमा नजिकका जिल्लाहरुमा यो औषधि प्रयोग भैरहेको छ । वैधरुपमा आयात नहुँदा यो औषधिको कालोबजारी भैरहेको हो । सोहीकारणले रेमदिसिभिर भित्र्याउनको लागि औषधि व्यवस्था विभागले तीन भारतीय कम्पनीलाई स्वीकृति दिएको छ ।

    विभागले भारतीय कम्पनी सिप्ला क्लेम, हिटेरो र माइलानलाई इन्जेक्सन ल्याउन शुक्रबार स्वीकृति दिएको हो । अहिले कालोबजारीमा यो औषधि ल्याउँदा प्रति डोज ५० हजार परिरहेको छ । वैध रुपमा ल्याउँदा भने ८ देखि ९ हजार पर्ने बताइएको छ। भारतमा यो औषधि ५ हजार भारु पर्छ । 

    अहिलेका लागि यो औषधि १० हजार डोज मात्र ल्याउने तयारी भएको छ । यो औषधि अहिले क्लिनिकल परीक्षका लागि ल्याउने निर्णय भएको औषधि व्यवस्था महानिर्देशक विभागका महानिर्देशक नारायण ढकालले जानकारी दिएका छ। 

    के हो रेमदिसिभिर ?

    अमेरिकी कम्पनी गिलियड साइन्सेजले उत्पादन गरेको रेमदिसिभर कोरोना संक्रमितका लागि उपयुक्त रहेको जनाएको छ ।  गम्भीर अवस्थामा पुगेका बिरामीको उपचारका लागि यो औषधि उपयुक्त हुने कम्पनिको दावी छ ।

    तर यो औषधि कोरोना संक्रमितको लागि नै पत्ता लगाइएको भने हैन । यो औषधि हेपाटाइटिस ‘सी’ संक्रमणको उपचारका लागि विकास गरिएको थियो । सो रोगको उपचारमा यो औषधिले सफलता पाउन सकेन । 

    पछि यो औषधि सार्स र मर्सको संक्रमण विरुद्ध पनि प्रयोग गरियो । ती संक्रमणमा यो औषधि केही हदसम्म सफल पनि भयो । तर, इबोला र मारबर्ग भाइरसको संक्रमणमा यो औषधि भने प्रभावहीन भएको थियो । यही औषधि अहिले कोरोना संक्रमितमा पनि परीक्षण गरिँदा केही फाइदा भएको पाइएको थियो । 

    अन्य रोगको तुलनामा कोरोना संक्रमितका उपचारमा यो प्रभावकारी समेत देखिएको छ । यो औषधिले संक्रमितको रोग प्रतिरोधी क्षमता उल्लेख्य रुपमा बढाउने बताइएको छ ।

    यसअघि बेलायतले यो औषधि प्रयोगमा ल्याएको थियो । यसको प्रयोग बेलायतको नेसनल हेल्थ सर्भिसका बिरामीमा गरिएको थियो । बेलायती स्वास्थ्य अधिकारी म्याट हेनककका अनुसार रेमदेसिभिर औषधिको प्रयोगपछि बिरामीहरु तुलनात्मक रुपमा छिटो नै संक्रमणबाट ठीक भएका छन् ।

    सामान्यतया कोरोना संक्रमितलाई संक्रमण मुक्त हुन १५ दिन लाग्ने गरेकोमा यो औषधिको प्रयोगले ती बिरामी ११ दिनमै ठिक भएका छन् । यो औषधिले रोग पार्ने नभइ संक्रमण विरुद्धको क्षमता बढाइ निको हुने दिन केही कम गरेको हो । 

    अमेरिका, जापान, बेलायतसँगै अहिले यो औषधि विश्वका अन्य देशमा समेत परीक्षण भइरहेको छ । तर, यसअघि चीनमा गरिएको परीक्षण भने सफल हुन सकेन । चीनमा यो औषधिको प्रयोग गरिँदा बिरामीमा उल्लेख्य सुधार नदेखिएको भन्दै यसको प्रयोग बन्द गरिएको थियो । तर, विज्ञहरु भने चीनमा यसको पर्याप्त परीक्षण नभएकाले यो सफल नदेखिएको बताइरहेका छन् ।

    बेलायतले यो औषधिबारे थप अध्ययन गर्ने जनाएको छ । यो औषधि कोभिड–१९ को संक्रमण पुष्टि भएका वयस्क र गम्भीर लक्षण भएकालाई मात्र प्रयोग गरिने बताइएको छ ।

    औषधिबारे यसअघि भएको अध्ययन अनुसार अक्सिजन लगाउन् पर्ने अवस्थाका बिरामीको उपचारमा रेमदेसिभिर बढी प्रभावकारी देखिएको छ । तर, संक्रमण भए पनि सिकिस्त नभएकामा भने यो औषधिको कुनै प्रभाव देखिएको छैन ।

    सोहीकारण संक्रमणका कारण जीवन संकट परेकामा मात्र यो औषधि प्रयोग गरिएको छ । यो औषधिको प्रयोगले कोभिड–१९ को संक्रमणबाट हुने मृत्युदर भने कम गर्न सकिने बताइन्छ ।

    निर्धक्कसँग यो औषधिको प्रयोग नगरिनुको कारण भने यसको सम्भावित साइड इफेक्ट रहेको बताइएको छ । यो औषधिको प्रयोगले कलेजो सुन्निने, रक्तचापको कमी र चिट्चिट् पसिना आउने लगाएतका साइड इफेक्ट देखिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार