Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिट बाँडफाँट कार्यदलको बैठक आज साँझ ५ बस्दै


    बुधबार, भाद्र २२ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । गठबन्धन दलको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै छ ।आउँदो मंसिर ४ गते  निर्वाचनमा सत्ता गठबन्धनमा कसले कति सिट पाउने भन्ने विषयमा भएको सहमति सिट बाँडफाँट कार्यादलले आज बिबरण  सार्वजनिक गर्ने भएको छ । सिट बाँडफाँट  कार्यदलको बैठक आज साँझ ५ बजेका लागि बोलाइएको छ ।

    हिजो मंगलबार साँझ बालुवाटारमा बसेको गठबन्धनको सिट बाँडफाँट कार्यदल बैठकले गरेको सहमति आज सार्वजनिक गर्ने तयारी छ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ८६ सिटमा चित्त बुझाएको छ । अरू बाँकी सिटबारे दलहरूबीच छलफल हुने स्रोतले जनाएको छ ।
    कांग्रेसले १०० सिटमा दाबी गर्दै आएको थियो । कांग्रेसको संस्थापन इतरपक्ष ९० सिटभन्दा तल नझर्ने अडानमा थियो । तर, केही दिनअघि पार्टी सभापति शेरबहादुर देउवाले ८६ सिटमा चित्त बुझाउन कार्यदलका सदस्यहरूलाई निर्देशन दिएका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने कांग्रेससँग ५० प्रतिशत राखेर बाँकीको जिम्मेवारी आफूलाई दिन आग्रह गरेका थिए ।

    सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूहरूबीच सहमति भइसकेको बताएका छन् । लिपिबद्ध गर्न मात्र बाँकी रहेको उनले बताएका छन् । बुधबार बस्ने कार्यदलको बैठकले प्रतिवेदन नै तयार पार्ने उनको दाबी छ ।

    तर, उनले सिट संख्याबारे भने जानकारी दिएनन् । आफूहरूबीच सहमति भइसकेको भए पनि सिट संख्याको विवरण अहिले नै सार्वजनिक गर्न हतार हुने उनले बताएका छन् । ‘बुधबारको बैठकमा प्रतिवेदन तयार गर्छौं । अब लिपिबद्ध गर्ने चरणमा पुगेका छौँ । सिट संख्याबारे भन्न अहिले अलि हतार हुन्छ । अब लिपिबद्ध गरेर शीर्ष नेतृत्वलाई बुझाउँछौँ’, उनले भने ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार