काठमाडौं । कोरोना संक्रमितलाई नेपालमा पहिलोपटक प्लाज्मा थेरापीबाट उपचार गरिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले ६० वर्षीय संक्रमितलाई सो विधिबाट उपचार गरेको जनाएको छ ।
विराटनगरका ती संक्रमित पुरूषको उपचार गरिएको र उपचार सफल भएको अस्पतालले जनाएको छ । ती संक्रमित गत साउन १० गते अस्पतालमा भर्ना भएका थिए । उनको संक्रमण गम्भीर भइ निमोनिया समेत भएकाले आईसीयूमा राखेर उपचार गरिएको थियो ।
उनको स्थिति बिग्रिइ भेन्टिलेटरमा राखेपछि उनलाई प्लाज्मा थेरापीको माध्यमबाट उपचार गरिएको र उपचार सफल भएको बताइन्छ । अहिले संक्रमितको शरीरले रोगसँग प्रतिरोध गर्न सकेको र बिरामीमा उल्लेख्य सुधार आएको अस्पतालले जनाएको छ ।
प्लाज्मा थेरापीमा यसअघि संक्रमण भइ निको भैसकेकाको शरीरबाट रगत निकालेर बिरामीलाई दिइन्छ । सो रगतमा कोरोना विरुद्धको एन्टीबडी हुने र त्यसले बिरामीको रोग प्रतिरोधी क्षमता बढाउँछ । विश्वका अन्य धेरै देशले पनि यो पद्धतिबाट संक्रमितको उपचार गर्दै आएका छन् ।