काठमाडौं । पछिल्लो समय काठमाडौं लगायत देशका विभिन्न भागमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । जोखिम बढेसँगै तत्काल लकडाउन गरेर जोखिम न्यूनीकरण गर्न जनस्वास्थ्यकर्मीहरुले सुझाव दिइरहेका छन् ।
तर अहिलेको अवस्थामा लकडाउन गर्ने सरकारको कुनै योजना नरहेको थाहा भएको छ । कोरोना अहिले नियन्त्रण बाहिर नगएको र यो अवस्था रहुन्जेल सरकारले लकडाउन नगर्ने कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का सचिव महेन्द्रप्रसाद गुरागाईंले बताए ।
तर पछिल्लो समय संक्रमण बेवास्ता गर्दै बढेको चहलपहलमा भने उनले चिन्ता व्यक्त गरेका छन् । होटल तथा रेष्टुरेन्ट, सार्वजनिक यातायात लगायतमा बढेको जोखिमपूर्ण भिडभाडप्रति लक्षित गर्दै उनले यसलाई रोक्नु पर्ने विचार राखे ।
उनले लकडाउनको विकल्पमा पीसीआर टेस्टको दर वृद्धि गर्ने, भारतबाट आउनेलाई बोर्डरमै क्वारेन्टाइनको व्यवस्था गर्ने, जोखिमयुक्त रहेका क्षेत्रमा स्वाब संकलनलाई तीब्रता दिने लगातयको काम भएको जानकारी दिएका छन् ।
सरकारले भदौ १ गतेदेखि लागू हुने गरी खुलाउने भनिएका सेवा र व्यवसायबारे साउन ५ गतेको मन्त्रिपरिषद्ले गरेका निर्णयहरु यथावत् नै रहेको जनाएको छ । भदौ १ गतेदेखि छोटो, मध्य र लामो दूरीका जिल्ला र अन्तर जिल्ला सञ्चालन हुने यातायात, आन्तरिक र अन्तर्रािष्ट्रय उडान, खेलकुद प्रशिक्षण र विद्यार्थी भर्ना खुला गर्ने निर्णय भएको थियो ।
रिपोर्ट नआएसम्म बोर्डरमै
सरकारले भारतबाट आउने नेपालीलाई सीमा नाकामै पीसीआर टेस्टको व्यवस्था मिलाएको छ । पीसीआरको रिपोर्ट नआएसम्म उनीहरु बोर्डरमै रहेको क्वारेन्टिनमा बस्नेछन् । परीक्षण रिपोर्ट नेगेटिभ आए सेल्फ क्वारेन्टिनमा पठाउने र पोजेटिभ आएको खण्डमा आइसोलेसनमा राखिने तयारी रहेको बताइन्छ ।
मन्त्रालयले जरुरी नपरी बाहिर ननस्किन, भौतिक दूरी दुई मिटर कायम गर्न, मास्क लगाउन, साबुन पानीले हात धुन र सम्भव नभए स्यानिटाइजर प्रयोग गर्न सर्वसाधारणमा अनुरोध गरेको छ ।