काठमाडौं । सरकारले झाडापखाला लागेका व्यक्तिको समेत कोरोना परीक्षण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोभिड-१९ टेस्टिङ’ सम्बन्धी मापदण्डमा परिवर्तन गर्दै यस्तो निर्णय गरेको जनाएको छ ।
यसअघि ज्वरो, खोकी, स्वासप्रस्वासमा समस्या, वास्ना र स्वाद थाहा नपाउने जस्ता लक्षण भएका व्यक्तिको मात्र परीक्षण गर्ने भनिएको थियो।
यस्तैगरी नयाँ मापदण्ड अनुसार संक्रमण फैलिएको ठाउँबाट आएको १४ दिन भएका व्यक्तिहरूको पनि परीक्षण गर्ने भनिएको छ। हवाइ मार्ग र स्थल मार्ग भएर विदेशबाट आउनेको पनि परीक्षण हुने बताइएको छ ।
यसरी गरिने परीक्षणमा पीसीआर र आरडीटी विधि प्रयोग गर्ने भएको छ। पीसीआर परीक्षणले तत्काल संक्रमण रहे/नरहेको थाहा हुन्छ भने आरडीटी परीक्षणबाट यसअघि संक्रमण भैसकेका वा छैन भन्ने यकिन गर्न सहज हुन्छ ।