काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले मौद्रिक नीतिपछि उद्योगी व्यवसायी तथा बैंकर्सहरु निराश हुनुपर्ने अवस्था नभएको बताएका छन् ।
आइतवार काठमाडौंमा भएका एक कार्यक्रममा बोल्दै डेपुटी गभर्नर मिश्रले यस्तो बताएका हुन् । उनले उद्योगी व्यवसायी तथा बैंकर्सहरुले मौद्रिक नीतिपछि सबै क्षेत्र खत्तम भयो भन्ने स्थिति नभएको बताए । मिश्रले एक जना मान्छे सामान्य बिरामी भएर अस्पतालमा गयो भन्दैमा आइसीयुमा हाल्न नहुने बताए । उनले उद्योगी, व्यवसायी र बैंकर्सहरुलाई अहिलेको मौद्रिक नीतिलाई नराम्रो तरिकाबाट नहेर्न आग्रह गरे ।
डेपुटी गभर्नर मिश्रले राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदा सबै क्षेत्रका सुझाव लिएर सुझावको आधारमा नै नीति ल्याएको दाबी गरे । उनले मौद्रिक नीति वर्तमान अर्थतन्त्रमा देखिएको समस्याको सतप्रतिशत समाधान गर्ने सञ्जीवनी बुटी नभएको बताए ।
मिश्रले अर्थतन्त्र बुझेका विज्ञहरुले सिआरआर अनुपात ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत बनाउँदा राष्ट्रबैंकले मार्न खोज्यो भन्नु बुझेर पनि नबुझेको जस्तो गरेको देखिएको बताए ।
मिश्रले भने–‘उद्योगी तथा बैंकर्सहरुका एकदमै निराश हुने कथनहरु आए, मौद्रिक नीति आएपछि निराश हुनुपर्ने अवस्था छैन । बैंकर्स संघका अध्यक्षले मसँग एक पैसा पनि छैन । म पैसा दिन सक्दिनँ । उद्योग परिसंघले हामी खतम भयौं भन्ने, अटोमोवाईल्स नाडाका अध्यक्षले हामी बर्बाद भयौं भन्नुभयो । चेम्बरका अध्यक्ष रिसाउनुभयो । यस्तो निराश हुनुपर्ने स्थिति छैन । एउटा मान्छे अस्पतालको ओपीडीमा बिरामी भएर गयो भन्दैमा सिधै आइसीयुमा हाल्ने काम नगरौं । यो कुरा अनुरोध गर्न चाहन्छु । यो कार्यक्रममा भेला भएर धेरै बिरामी भएर अस्पताल गएको मान्छेलाई सिधै आइसीयुमा लगेर सलाइन पानी चढाउन थाल्ने काम उद्योगी, व्यवसायी,बैंकर्सहरुले नगरौं । सञ्जीवनी बुटी मौद्रिक नीतिमा सतप्रतिशत निस्कन सक्ने अवस्था छैन । राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदा सबै क्षेत्रका सुझाव लिएका थियौं । अन्तर्राष्ट्रिय रुपमा भएको मूल्यबृद्धि, घरजग्गा कारोबारमा भएको बृद्धिको अवस्थामा अब विश्व बैंकले समेत घट्दै जान्छ भनेको अवस्था थियो । हामीले सबै बुद्धिजीवीहरुलाई राखेर सुझाव लिएर ३ प्रतिशतबाट ४ प्रतिशत सिआरआर अनुपात बढाएको भएर मार्न खोजेको हो । भनेर भन्न थालेपछि यो बुझेर पनि नबुझेको जस्तो देखिएको छ ।’
त्यस्तै कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मौद्रिक नीतिले ७ प्रतिशत मूल्यबृद्धि कायम राख्न असम्भव रहेको बताए । उनले मौद्रिक नीतिमा ८ प्रतिशतको ग्रोथ रेट र मूल्यवृद्धिलाई ७ प्रतिशतमा सीमित राख्ने लक्ष्य महासंघलाई वास्तविक नलागेको बताए । अध्यक्ष गोल्छाले मौद्रिक नीतिले बैंकको ब्याजदर बृद्धि हुने भएकाले कर्जाको माग कम हुने बताए ।
गोल्छाले भने–‘अहिले आएको मौद्रिक नीतिमा ८ प्रतिशतको ग्रोथ रेट र मूल्यबृद्धिलाई ७ प्रतिशतमा लिमिट राख्ने कुरा आएको छ । मलाई लाग्छ, यो जनता र राजनीतिक भ्यू हो जस्तो लाग्छ । किनकि संकुचित हुने मौद्रिक नीति अर्कोतिर ग्रोथ रेट ८ प्रतिशत र बाह्य कारण पनि मूल्यबृद्धि ७ प्रतिशत कायम राख्नु यो असम्भव हो, यो बाझिएको छ । मौद्रिक नीतिले जुन लक्ष्यहरु हासिल गर्ने प्रयास गरेको छ । जीडीपी ग्रोथ रेट र मूल्यबृद्धिको लक्ष्य लिएको छ । त्यो वास्तविक हामीलाई लागेन । हामी बुझनसक्छौं । नीति तथा कार्यक्रमले एउटा कुरा बोलेको थियो । मौद्रिक नीतिले ब्याजदर बढाउनेछ । ब्याजदर बढेपछि पैसाको माग कम हुनेछ । अहिले अर्थतन्त्रमा आएको समस्या समाधान हुनेछ भन्ने कुरा बुझ्नसक्छौं ।
अध्यक्ष गोल्छाले मौद्रिक नीतिले जीडीपी ग्रोथ रेट र मूल्यबृद्धिको लक्ष्य लिए पनि त्यो निजी क्षेत्रलाई वास्तविक नलागेको बताए ।