काठमाडौं । नेपाल प्रहरीका ६३ जना अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।नेपाल सरकार सचिवस्तरको विभिन्न मितिको निर्णयले प्रशासन तथा प्राविधिकतर्फका विभिन्न पदमा पदोन्नति भएका ५७ तथा खुल्ला प्रतियोगिताद्वारा नवनियुक्त ६ जना गरी कूल ६३ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।
प्रहरी प्रधान कार्यालयमा आज बिहीबार प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले ६३ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रशासनतर्फका प्रहरी नायव उपरीक्षक ३३ प्राविधिकतर्फका ९ जना र प्राविधिकतर्फका २१ जना रहेका छन् ।
समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सक्षम र सबल जनशक्ति नेपाल प्रहरीमा ल्याउन प्रेरित गर्ने अभिभावकप्रति कृतज्ञता ज्ञापन गर्दै पदोन्नतिसँगै बढेको जिम्मेवारीलाई प्रहरी अधिकृतहरूले आ-आफ्नो योग्यता अनुसारको विशिष्टिकृत विधाहरूमा उत्कृष्ट काम गर्न निर्देशन दिएका छन् ।