Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • भारतबाट करोडौको सुन चोरेको घटनामा नेपालमा थप ३ जना पक्राउ


    बिहिबार, साउन १९ २०७९
    945
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । भारतको मुम्बई जाने क्रममा बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका धनगढीका सुनचाँदी व्यवसायी सन्तोष लामिछाने भारतको पञ्जावमा भएको एउटा सुन चोरीको घटनामा जोडिएको प्रहरीले जनाएको छ ।

    सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष समेत रहेका लामिछानेलाई बिहीबार कैलाली ल्याइएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले लामिछानेसँगै भारतबाट सुन चोरी र ओसारपसारको कार्यमा संलग्न अन्य तीन जनलाई पनि पक्राउ गरिएको जानकारी दिए ।

    उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताउँदै जोशीले तत्काल विस्तृत विवरण दिन नसकिने बताए ।

    भारतीय दूतावासमार्फत आएको उजुरीअनुसार एक करोड रुपैयाँ भन्दा धेरैको सुन चोरी प्रकरणको अनुसन्धानका क्रममा लामिछानेसहितका अन्य व्यक्तिलाई पक्राउ गरिएको डीएसपी जोशी बताउँछन् ।

     घटनाको अनुसन्धानमा नेपाल प्रहरीको विशेष अनुसन्धान ब्युरो र केन्द्रीय अनुसन्धान ब्युरोको टोली समेत खटिएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरले प्राविधिक सहयोगका लागि विशेष अनुसन्धान ब्युरो र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली कैलाली आइपुगेको पुष्टि गरे । 

    प्रहरी स्रोतकाअनुसार कैलाली प्रहरी विगत डेढ महिनादेखि यो चोरी प्रकरणको अनुसन्धानमा सक्रिय थियो । विशेष अनुसन्धान ब्युरोको टोली पनि केही समय अघि कैलाली पुगेर फर्किएको थियो ।

    प्रहरीले केही गरगहना र नगद समेत बरामद गरेको छ । तर अनुसन्धान प्रभावित हुने भन्दै विवरण सार्वजनिक गर्न अस्वीकार गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार