काठमाडौं । अबिरल बर्षाका कारण आएको बाढीले कोशी नदीमा पानीको सतह बढ्दै जाँदा उदयपुरका बस्तीमा भँगालो पसेको छ । बुधबार बिहान ४ बजेदेखि कोशीको एउटा भँगालो बस्तीमा पसेको छ । उदयपुरको बेलका नगरपालिकाको डुम्रे हुँदै सिसौली बस्तीमा भँगालो पसेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कोशीको भँगालोका कारण १ हजार परिवार प्रभावित हुनेछन् । त्यस क्षेत्रमा तीन सातादेखि भंगालोलाई रोक्ने प्रयास गरिएको प्राधिकरणले जनाएको छ । आज बिहानदेखि नदीको एउटा भंगालो बेलका नगरपालिकाको डुम्रेबाट पश्चिमतर्फ कटान गर्दै सिसौली, चिलिया बस्ती पस्न थालेको हो । नदी बस्तीमा पसेकाले सबैलाई सतर्क रहन प्राधिकरणले अनुरोध गरेको छ ।
बेलका क्षेत्रमा नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी उद्दारमा परिचलित भएका छन् । उनीहरुले बेलका क्षेत्रका प्रभावितलाई सुरक्षित स्थानमा लान सहयोग गरिरहेका छन् ।