काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिले उपभोक्ता मारमा परेका भए पनि सरकारले प्राप्त गरेको राजस्व भने बढेको छ ।
पेट्रोलियम पदार्थको मूल्यका आधारमा लिइने विभिन्न कर, महसुल र शुल्क लिने भएकाले सरकारको राजस्व सङ्कलन बढेको हो । आव २०७८/७९ मा सरकारले पेट्रोलियम पदार्थको आयातबाट एक खर्ब २० अर्ब छ करोड रुपियाँ राजस्व प्राप्त गरेको छ । यो अहिलेसम्मकै धेरै हो ।
यो आर्थिक वर्ष नेपाल आयाल निगमले तीन खर्ब १० अर्ब रुपियाँ बराबरको ३१ लाख ८९ हजार ७१६ किलोलिटर पेट्रोलियम पदार्थ आयात गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेका कारण अघिल्लो वर्षको तुलनामा दोब्बर रकमको पेट्रोलियम पदार्थ आयात भएकाले राजस्व सङ्कलनमा वृद्धि भएको निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिनुभयो ।
आव २०७८/७९ मा पेट्रोलियम पदार्थ आयात गरेर सबैभन्दा धेरै भन्सार शुल्क ४२ अर्ब ९३ करोड रुपियाँ सङ्कलन भएको छ । यस्तै पूर्वाधार विकास करमा २४ अर्ब ५३ करोड रुपियाँ र मूल्य अभिवृद्धि कर (भ्याट)मा ४२ अर्ब ५४ करोड रुपियाँ सङ्कलन भएको निगमको तथ्याङ्क छ । सडक मर्मत दस्तुर छ अर्ब ३८ करोड र वातावरण शुल्क तीन अर्ब ६८ करोड रुपियाँ सङ्कलन भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेका कारण इन्धन कारोबारमा आव २०७८/७९ मा ४८ अर्ब ४६ करोड रुपियाँ नोक्सानमा गएको निगमको भनाइ छ । आव २०७७/७८ मा यो नोक्सानी ५९ करोड रुपियाँ थियो ।
पाँच वर्षमा साढे छ खर्ब राजस्व
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ आयात गरेर पाँच वर्षमा सरकारलाई साढे छ खर्ब रुपियाँ राजस्व बुझाएको छ । निगमले आव २०७४/७५ देखि आव २०७८र७९ सम्म एक करोड ४२ लाख ४६ हजार ९५ किलोलिटर (डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन र ग्यास) आयात गरेर छ खर्ब ५३ अर्ब रुपियाँ राजस्व बुझाएको हो । सरकारले पेट्रोलियम पदार्थमा भन्सार महसुल, मूल्य अभिवृद्धि कर, पूर्वाधार कर, आयकर, वातावरण शुल्क र सडक मर्मत शुल्क शीर्षकमा राजस्व लिँदै आएको छ ।
आव २०७७/७८ मा एक खर्ब ५८ रुपियाँ बराबरको २८ लाख ६७ हजार किलोलिटर पेट्रोलियम पदार्थ कारोबार गरेर ९८ अर्ब ९८ करोड रुपियाँ राजस्व सङ्कलन भएको थियो ।
आव २०७६र७७ मा एक खर्ब ४५ अर्ब ९८ करोड रुपियाँको २५ लाख ९० हजार ६९३ किलोलिटर पेट्रोलियम पदार्थ आयात गरेर ६६ अर्ब ५७ करोड रुपियाँ राजस्व सङ्कलन भएको निगमको तथ्याङ्क छ । यस्तै आव २०७५र७६ मा एक खर्ब ९२ अर्ब ७२ करोड रुपियाँ बराबरको २९ लाख ३८ हजार ९३० किलोलिटर पेट्रोलियम पदार्थ आयात गरेर ६५ अर्ब ९३ करोड रुपियाँ र २०७४र७५ मा एक खर्ब ५४ अर्ब ७९ करोड रुपियाँको २६ लाख ७० हजार ८८६ किलोलिटर पेट्रोलियम पदार्थ आयात गरेर ५५ अर्ब एक करोड रुपियाँ राजस्व सङ्कलन भएको थियो ।
ग्यासमा प्रतिसिलिन्डर ३२७ रुपियाँ ३७ पैसा कर रहेको छ । प्रतिलिटर पेट्रोलमा सरकारले भन्सार र प्रज्ञापनपत्र शुल्कबापत २५ रुपियाँ २३ पैसा सङ्कलन गर्दै आएको छ । त्यस्तै सडक मर्मतसम्भार शुल्क चार रुपियाँ, प्रदूषण शुल्क एक रुपियाँ २५ पैसा, पूर्वाधार कर १० रुपियाँ, मूल्य अभिवृद्धि कर २० रुपियाँ ७१ पैसा, मूल्य स्थिरीकरण कोष शुल्क एक रुपियाँ ८० पैसा उठाउने गरेको छ ।
यस्तै प्रतिलिटर डिजेलमा भन्सार तथा प्रज्ञापन शुल्क १२ रुपियाँ, सडक मर्मतसम्भार दुई रुपियाँ, प्रदूषण कर एक रुपियाँ ५० पैसा, पूर्वाधार कर १० रुपियाँ, मूल्य अभिवृद्धि कर १८ रुपियाँ ७५ पैसा र मूल्य स्थिरीकरण कोषमा एक रुपियाँ ६३ पैसा उठाउने गर्छ ।
निगमले पेट्रोलियम आयात गरेबापत सरकारलाई तिर्नुपर्ने भन्सारलगायत महसुल, प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्छ ।
आजको गोरखापत्र दैनिकबाट