Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जसपा औपचारिक रूपमा विभाजनको घोषणा हुँदै


    मंगलबार, असार २१ २०७९
    2.4K
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) औपचारिक रूपमा विभाजन हुने भएको छ । संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवबीच विवाद बढ्दै जाँदा पार्टी विभाजनको सँघारमा पुगेको हो । भट्टराई र यादव आपसी सहमतिमा नै पार्टी विभाजन गर्न यसअघि नै सहमत भइसकेका छन् । सोही सहमतिअनुसार जसपामा औपचारिक रूपमा विभाजनको घोषणा हुन लागेको हो ।

    यादव समूहले केन्द्रीय समितिको विस्तारित बैठक २७ र २८ असारमा वीरगन्जमा बोलाएको छ । भट्टराई समूहले समेत केन्द्रीय समितिको विस्तारित बैठक २९ र ३० असारमा काठमाडौंमा बोलाएको छ । सोही बैठकबाट जसपा औपचारिक रूपमा विभाजित हुने बताइएको छ ।

    भट्टराईनिकटका नेता गंगानाराण श्रेष्ठका अनुसार आफूहरूलाई थाहै नदिई वीरगन्जमा बैठक बोलाइएपछि काठमाडौंमा आफूहरूले विस्तारित बैठक बोलाएको बताए । पार्टीभित्र एकलौटी गर्न थालेपछि काठमाडौंमा बस्ने विस्तारित बैठकले थप निर्णय गर्ने उनले बताए ।

    यादव समूहले मधेस प्रदेशको वीरगन्जमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएपछि भट्टराई समूहले काठमाडौंमा विस्तारित बैठक बोलाएको हो । जसपा स्रोतका अनुसार भट्टराईले नयाँ पार्टी गठन गरेर जसपाबाटै विभाजन भएर गठन भएको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), (महन्थ ठाकुर, राजेन्द्र महतो)सँग पार्टी एकीकरण गर्ने आन्तरिक तयारी रहेको छ ।

    सोमबार नै अध्यक्ष यादवले आफूखुसी मन्त्री हेरफेर गरेपछि भट्टराईले त्यसलाई रोक्ने प्रयास गरेका थिए । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले भट्टराईको आग्रह अस्वीकार गरेपछि पार्टीमा थप विवाद बढेको हो ।

    यादवले तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नाम पठाएपछि भट्टराईले त्यसलाई रोक्न खोजेका थिए । यादवले आइतबार राति कृषिमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव र वनमन्त्री राम सहायप्रसाद यादवलाई फिर्ता बोलाएर कृषिमा मृगेन्द्रप्रसाद सिंह यादव, भौतिक पूर्वाधारमा मोहम्मद इस्तियाक राई र वन मन्त्रालयमा प्रदीप यादवको नाम पठाएका थिए । सोहीअनुसार उनीहरूले सोमबार शपथ गरिसकेका छन् ।

    तर, भट्टराईले त्यसमा आफ्नो सहमति नभएकाले मन्त्री नियुक्त नगर्न र शपथ नगराउन आग्रह गरेका थिए । तर, प्रधानमन्त्रीले नमानेपछि जसपाबाट सरकारमा गएका तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुका साथै पदभार ग्रहणसमेत गरिसकेका छन् ।

    यसअघि बसेको कार्यकारिणी समितिको बैठकले मन्त्री हेरफेरको निर्णय गर्ने अधिकार यादवलाई दिएको थियो । तर, सो बैठकलाई भट्टराई समूहले आधिकारिक बैठक नभई एक समूहको समूहगत बैठक मात्रै भएको दाबी गर्दै आएको छ ।

    हालको ३२ सदस्यीय कार्यकारिणी समितिमा मन्त्री हेरफेर गरेर यादवले बहुमत जुटाइसकेको दाबी उनीनिकट नेताले गरेका छन् । भट्टराईको पक्षमा खुलेका इस्तियाक राई र प्रदीप यादवलाई यादवले मन्त्री बनाएका हुन् । जसपा वरिष्ठ नेता अशोक राईको समूहमा रहेका संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठलाई निरन्तरता दिइएको छ ।

    कार्यकारिणी समितिमा रहेका ३२ मध्ये यादव समूहमा १९ र भट्टराई समूहमा १२ रहेको स्रोतको दाबी छ । यस्तै ५ सय बढी सदस्य रहेको केन्द्रीय सदस्यमा समेत यादवको बहुमत रहेको छ भने भट्टराई अल्पमतमा छन् । यद्यपि दुवै समूहले आफ्नो पक्षमा नेताहरूलाई ल्याउने प्रयास जारी नै राखेका छन् । केन्द्रीय सदस्यमध्ये कतिपय नेता अन्य पार्टीमा प्रवेश गरिसकेका छन् भने कतिपय नेताको निधन भइसकेको छ ।

    वरिष्ठ नेता अशोक राई समूह यादव समूहमै खुलिसकेको छ । मन्त्रीबाट फिर्ता बोलाइएका नेतालाई आफ्नो पक्षमा खुलाउन भट्टराईले कसरत गरिरहेका छन् । यस्तै, यादवबाट असन्तुष्ट नेतालाई आफने पक्षमा ल्याएर बहुमत जुटाउने प्रयासमा भट्टराई रहेका छन् ।

    केही समयअघि भट्टराई समूहले केन्द्रीय सदस्य तथा सांसदको हस्ताक्षर संकलन गरेका थिए । पार्टीलाई विधानअनुसार सञ्चालन गर्न र बैठक बस्नुपर्ने मागसहित हस्ताक्षर संकलन गरिएको थियो । सोहीबीचमा भट्टराईसहितका नेताले पार्टी हितविपरीत कार्य गरेको भन्दै कारबाही गर्न माग गर्दै यादवलाई केही नेताले ज्ञापनपत्र बुझाएका थिए । आजको राजधानी दैनिकबाट

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार