Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालमा लगानी गर्न चिली इच्छुक, नेपाल चेम्बर अफ कमर्सले सहकार्य गर्ने


    मंगलबार, जेष्ठ २४ २०७९
    700
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं। दक्षिण अमेरिकी राष्ट्र चिली नेपालमा लगानीका लागि इच्छुक देखिएको छ । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र नेपालका लागि चिलीका राजदूत जुवान एङगुलोबीच काठमाडौंको जमलस्थित चेम्बर भवनमा मंगलबार भएको भेटवार्तामा दुई देशबीच सहकार्य तथा लगानीका विभिन्न विकल्पमा छलफल भएको हो । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले पर्यटन, जलश्रोत, सूचनाप्रविधि तथाजडीबुटीजन्य क्षेत्रमा लगानीको सम्भावनाबारे राजदूत एङगुलोलाई अवगत गराएका थिए । 

    नेपाल र चिलीबीचको कुटनीतिक सम्बन्ध ६० वर्ष भन्दा पुरानो भएको सन्दर्भमा आर्थिक सम्वन्धलाई थप बलियो बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । उनले भने, ‘दुई देशबीच कुटनीतिक सम्वन्ध स्थापना भएको ६० वर्ष पुरा भएको छ । सरकारी र निजी क्षेत्रबीचको सहकार्य मार्फत आर्थिक सम्वन्धलाई थप बलियो र प्रभावकारी बनाउन चाहान्छौं ।’

    नेपाल चेम्बर र चिली चेम्बर अफ कमर्सबीच बाणिज्य तथा लगानीका क्षेत्रमा सहकार्य गर्न पनि अध्यक्ष मल्लले आग्रह गरे । खासगरि नेपालको जलविद्युत तथा पर्यटनको क्षेत्रमा लगानी र प्रतिफलको सुरक्षणबारे अध्यक्ष मल्लले राजदूत एङगुलोलाई जानकारी गराएका थिए । 

    उनले भने ‘वैदेशिक लगानीको सुरक्षणका लागि नेपालले पछिल्लो समय नीतिगत तहमा थुप्रै सुधार गरिसकेको छ । आगामी बर्षको बजेटमा पनि सरकारले ५० वर्ष सम्म जग्गा भाडामा उपलब्ध गराउने घोषणा गरेको छ, चिलीको लगानी सुरक्षण गर्न हामी प्रतिवद्धता जनाउँछौं ।’

    अन्तर्राष्ट्रिय रुपमा बढी माग हुने बस्तुहरुको उत्पादनका लागि नेपाल उपयुक्त गन्तव्य भएको अध्यक्ष मल्लले बताए । नेपालमा जग्गाको मूल्य र श्रमको लागत सस्तो पर्ने भन्दै अध्यक्ष मल्लले चिलीको लगानीमा उद्योग खोलेर भारत, चीन लगायत दक्षिण एसिया, युरोप र अमेरिकी बजारमा बिक्री गर्न सकिने बताए ।  

    राजदूत एङगुलोले पनि नेपालको बर्तमान आर्थिक अवस्था र लगानीको वातावरणबारे जानकारी लिएका थिए । नेपाल हिमालयको देश भन्दै उनले पर्यटनको क्षेत्रमा अथाह सम्भावना आफूले देखेको बताए । नेपालमा लगानीको सम्भावनाबारे आफ्नो देशको निजी क्षेत्र र नागरिकहरुलाई जानकारी गराउने राजदूत एङगुलोले प्रतिबद्धता जनाए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार