जयन्ती बडुवाल
मंगलसेन । अछाममा एक किशोरको हत्या भएको छ । पञ्चदेवल विनायक नगरपालिका,४ कालिकास्थान, कुच्चीका १६ वर्षीय विनोद शाहीको हत्या गरिएको अवस्थामा लास फेला परेको हो । दश कक्षामा अध्ययनरत मृतक शाहीको हराएको पाँच दिनपछि आज घर नजिकको जंगलमा लास फेला परेको हो ।
कालिकास्थानमा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच स्थानीय तहको चुनावदेखि नै सानातिना मनमुटाव र झडपहरु भइरहेका थिए । वैशाख ३० गतेको निर्वाचनमा काँग्रेसका कार्यकर्ताले अर्कै मतदाताको नाममा मत हाल्न खोजेपछि हेल्थ पोष्टमा रहेका दुईवटा बुथमा उनीहरुबीच कुटाकुट भएको थियो । उक्त झडपमा एमाले कार्यकर्ताहरु चक्र शाही लगायत घाइते भएका थिए । त्यही घटनाबाट काँग्रेस र एमालेबीच कालिकास्थानमा द्वन्द्व शुरु भएको थियो ।
चुनावपछि एमाले कार्यकर्ताहरुको कुटाइबाट आफ्ना नेता सुरज शाही घाइते बनाएको भन्दै काँग्रेसले प्रशासनमा दिएको उजुरीका आधारमा प्रहरीले १७ गते राति एमालेनिकटका घरहरुमा हस्तक्षेप गरेको थियो । सोही क्रममा महिला, बालबालिका र वृद्धवृद्धा गरि थुप्रै स्थानीयलाई घाइते पारेर प्रहरीले घटनामा संलग्न रहेको आरोपमा देवेन्द्र शाही र मंगल शाहीलाई पक्राउ गरेको थियो भने कृष्ण शाही, निराजन शाही, हिम्मत शाही, कमल शाही, भर्द शाही, राजेन्द्र शाही र विनोद शाही फरार भएको डिएसपी रविराज थपलियाले बताएका थिए । त्यसबेलादेखि नै मृतक शाही हराएका थिए ।
नेकपा एमालेका पूर्वजिल्ला सदस्य बलबहादुर शाहीका छोरा मृतक किशोरको चुनावी रिसिवीकै कारण काँग्रेस पक्षले हत्या गरेको हुनसक्ने स्थानियहरुको आरोप छ ।
आक्रोशित पीडित पक्षले काँग्रेसबाट निर्वाचित नगरप्रमुख अम्बिका चलाउने र प्रहरी प्रशासनविरुद्ध नारावाजी गरिरहेका छन् । उनीहरुले मृतक किशोरको लाससमेत उठाउन नदिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी थपलियाले जानकारी दिए ।