Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ७२९ पालिकामा मतगणना सम्पन्न हुँदा कुन दलले कति जिते ?


    सोमबार, जेष्ठ ९ २०७९
    630
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले ७२९ वटा पालिकामा मतगणना सम्पन्न गरेको छ । 

    आयोगले गत वैशाख ३० गते एकसाथा सबै ७५३ वटा पालिकामा निर्वाचन गरेको थियो । अब देशका २४ वटा पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ । 

    आयोगका अनुसार मतगणना सम्पन्न भएका पालिकामा सबैभन्दा बढी प्रमुख तथा अध्यक्ष पद नेपाली कांग्रेसका उम्मेदवारले जितेका छन् । त्यसपछि क्रमसः नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेपाल, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले बढी पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् । 

    आयोगको पछिल्लो तथ्याङ्कअनुसार मतगणना सम्पन्न भएकामध्ये ३२० पालिकाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । मतगणना भइरहेकामध्ये ६ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवारको अग्रता रहेको छ । 

    एमालेका उम्मेदवारले हालसम्म १९९ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेका छन् । मतगणना भइरहेका पालिकामध्ये ६ वटाको प्रमुख तथा अध्यक्षमा एमालेका उम्मेदवारको अग्रता रहेको छ । 

    माओवादी केन्द्रका उम्मेदवार १२० पालिकाको प्रमुख तथा अध्यक्षमा विजयी बनेका छन् । मतगणना भइरहेकामध्ये २ पालिकाको प्रमुख तथा अध्यक्षमा माओवादीका उम्मेदवारले अग्रता कायम गरेका छन् । 

    जसपाले हालसम्म २९ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना भइरहेका पालिकामध्ये ३ वटाको प्रमुख तथा अध्यक्षमा जसपाका उम्मेदवारको अग्रता रहेको छ । 

    एकीकृत समाजवादीले १७ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना भइरहेका पालिकामध्ये २ वटा एकीकृत समाजवादीका उम्मेदवार अगाडि रहेका छन् । 

    लोसपाका उम्मेदवारले १५ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् । मतगणना भइरहेका पालिकामध्ये एउटामा लोसपाको अग्रता रहेको छ । 
    आयोगका अनुसार अन्य दल र स्वतन्त्र उम्मेदवार २९ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा विजयी भइसकेका छन् । मतगणना भइरहेकोमध्ये एउटा पालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता रहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार