पोखरा । गत चैत ११ देखि लकडाउन भएसँगै ठप्प रहेका पोखराका सार्वजनिक यातायात बिहीबारदेखि चल्ने चएका छन् । यसअघि यातायात व्यवसायीले काठमाडौंमा पनि बिहीबारदेखि सार्वजनिक यातायात चलाउने निर्णय गरेका थिए ।
सार्वजनिक सवारी सञ्चालन गर्दै आएको पोखराको सबैभन्दा ठूलो कम्पनी पोखरा यातायात प्रालिले ५० प्रतिशत सार्वजनिक सवारी साधन चलाउने तयारी गरेको कम्पनीका प्रबन्ध निर्देशक अमृत शर्माले जानकारी दिए ।
उनका अनुसार पोखरामा कम्पनीमा आबद्ध ३ सय ६० सवारी साधन सञ्चालन हुँदै आएका छन् । सरकारले सार्वजनिक सवारी साधन सञ्चालन गर्ने भने पनि त्यसका लागि कार्यविधि अझै आइनसकेको बताउँदै शर्माले सो विषयमा कास्कीका प्रमुख जिल्ला अधिकारीसँग थप छलफल गरिने जानकारी दिए ।
आधारभूत सुरक्षा सतकर्ता अपनाएर सवारी साधन सञ्चालन गर्ने तयारी गरिएको उनको भनाइ छ । पोखरामा विभिन्न यातायात कम्पनीका करीब आठ सय बस तथा २ हजार ५ सय ट्याक्सी सञ्चालन हुँदै आएका छन् । रासस