Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लिमीका मत पेटिका आइतबार मात्र ढुवानी हुने


    शनिबार, बैशाख ३१ २०७९
    785
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • हुम्ला । हिमाली जिल्ला हुम्लाको उत्तरी भेगमा रहेको नाम्खा गाउँपालिका-६ लिमीका मत पेटिका आइतबार मात्र हेलिकोप्टरबाट ढुवानी हुने भएका छन् ।

    मतदानकार्य वैशाख ३० गते शुक्रबार नै सम्पन्न भए पनि शनिबार हेलिकोप्टरको व्यवस्था हुन नसकेपछि आइतबारमात्र लिमीका मतपत्र ढुवानी हुने भएका हुन् ।

    हेलिकोप्टरको व्यवस्था हुन नसकेपछि भोलि मात्र लिमीका तीन वटा मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरबाट ढुवानी हुने बराह दल गुल्म रानीबनका गुल्मपति गणेश खड्काले जानकारी दिए ।

    लिमीबाट आउने नारा र न्यालु लेकमा बाक्लो हिउँ जमेको कारण तीन मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरबाट ल्याउन लागिएको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ ।

    लिमीका तीन वटा मतदान केन्द्रमा हिमशिखर प्रावि तिल, सुनखानी प्रावि हल्जी र भृकुटी प्रावि जाङ रहेका छन् । हिमालपारिको गाउँ लिमीका तीन वटै मतदान केन्द्रमा पाँच सय भन्दा बढी मत रहेका छन् ।

    लिमीमा मतदान कार्य गर्न खटिएका कर्मचारीहरू चार हजार आठ सय मिटर अग्लो नारा लेकको हिउँ छिचोलेर त्यहाँ पुगेका थिए ।

    मतदान र अघिल्लो दिन लिमी जाने दुवै लेकमा हिमपात भए पनि कर्मचारी पैदल आउन नसक्ने अवस्था रहेको थियो । यसका लागि दुई दिन ढिलो गरी भए पनि निर्वाचन आयोग मतपेटिका हेलिकोप्टरमा ढुवानी गर्न राजी भएपछि जेठ १ गते मतपेटिका गाउँपालिका केन्द्र याल्वाङ आउने भएका हुन् ।

    लिमीको मतपेटिका नआउँदासम्म नाम्खा गाउँपालिकाको मत गणना नहुने भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार