Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अति संवेदनशील मतदान स्थलमा तालिमप्राप्त कुकुरबाट निरीक्षण


    बिहिबार, बैशाख २९ २०७९
    570
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सिराहा । स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार हुने मतदानका लागि कायम गरिएका मतदानस्थलको सुरक्षा संवेदनशीलताको आधारमा तालिमप्राप्त कुकुरसहितका प्रहरीले सिराहाका विभिन्न मतदानस्थलहरूको निरीक्षण गरिएको छ ।

    मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट ल्याइएको तालिमप्राप्त कुकुरसहित सम्बन्धित इलाकामा पर्ने प्रहरी युनिट इन्चार्जलगायतको टोलीले संवेदनशील मानिएका मतदानस्थल निरीक्षण गरेको हो ।

    जिल्लको मिर्चैया, गोलबजार, धनगढी, कसाहा र लहानका अति संवेदनशील मतदानस्थलको निरीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय सिराहा प्रहरीका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

    प्रहरी नायव उपरीक्षक बुढाथोकीका अनुसार जिल्ला सुरक्षा समितिले अतिसंवेदनशील मानेका एक सय ७० मध्ये बिहीबार दिनभर हरेक स्थानीय तहमा एउटा पर्ने गरी नमुनाका रूपमा मतदानस्थल निरीक्षण गरिनेछ । 

    जिल्ला सुरक्षा समितिले विगतमा निर्वाचन बिथोलिएका, झडप भएका र अन्य भूमिगत समूहका सुरक्षा थ्रेट रहेका मतदानस्थलहरूलाई अतिसंवेदनशील मतदानस्थलको रूपमा सूचीकृत गरी सुरक्षाकर्मी परिचालन गरेको उनले बताए ।

    स्थानीय तह निर्वाचनका लागि जिल्लामा दुई सय २१ मतदानस्थलअन्तर्गत चार सय ९८ मतदान केन्द्र तोकिएको छ । जसमा अतिसंवेदनशील एक सय ७०, संवेदनशील ४६ र पाँचवटा मतदानस्थल सामान्य सूचीमा रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

    सिराहाको आठ नगरपालिका र नौ गाउँपालिका गरी १७ स्थानीय तहमा दुई लाख १९ हजार पाँच सय ६४ पुरुष, एक लाख ९४ हजार छ सय महिला र दुई तेस्रोलिंगी गरी चार लाख १४ हजार एक सय ६६ मतदाता रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार