काठमाडौँ । काठमाडौँ प्लाजा खाली गर्न ढिलाई हुदाँ सम्झौता प्रक्रिया पूरा गरेर सर्ने तयारीमा रहेको काठमाडौँ महानगरपालिका अन्योलमा परेको छ । छुट्टाछुट्टै घर भाडामा लिएर विभिन्न ११ ठाउँबाट स्थानीयलाई सेवा प्रवाह गर्दै आएको काठमाडौँ महानगरपालिकाले नेपाल ट्रष्टको स्वामित्वमा रहेको काठमाडौँ प्लाजाको एकै छानामुनीबाट सेवा दिने उदेश्यले लिज-भाडा सम्झौता अघि बढाएको जानकारी दिएको छ ।
नेपाल ट्रष्ट र कन्सेप्ट डेभलपर्स प्रा.लि.बीच भएको लिज÷भाडा सम्झौता २०७७ असार २ गते सकिएसँगै महानगरपालिकाले १० वर्षका लागि लिज-भाडा लिइ सर्ने सम्झौता गर्ने अन्तिम तयारीमा थियो । ‘छुट्टाछुट्टै घर भाडामा लिई विभिन्न ११ ठाउँबाट सेवा प्रवाह गर्दा काठमाडौँ महानगरपालिका र स्थानीय जनताका लागि ढिलो, खर्चिलो, झन्झटिलो र असुविधानजक बन्दै आएको छ,’ काठमाडौँ महानगरपालिका एक निर्देशकले भन्नुभयो, ‘एकै छानामुनीबाट सेवा प्रवाह गर्दा स्थानीय जनतालाई सहज र सर्वसुलभ ढंगले सार्वजनिक सेवा प्रवाह उपलब्ध गराउन सकिने उदेश्यका साथ हामीले काठमाडौँ प्लाजामा सर्ने योजनासहित ट्रष्टसँग सम्झौता प्रक्रिया अघि बढाएका हौँ ।’ जीटुजीमार्फत गरिने सम्झौताले सरकारलाई समेत सार्वजनिक, सामाजिक र आर्थिक लाभ हुने भएकाले लिज प्रक्रिया अघि बढाएको उहाँको भनाई छ । ‘छरिएर रहेका ठाउँबाट सेवा प्रवाह गर्दा एकातिर सेवाग्राहीलाई सास्ती त हुने नै भयो सबैतिरको भाडा जोड्दा अहिले पनि २८ लाख भन्दा बढी खर्च भैरहेको छ,’ उहाँले भन्नुभयो, ‘सेवाग्राहीले बारम्बार जनप्रतिनिधि र कर्मचारीसँग पनि यहि गुनासो गर्ने भएकाले हामीले यो प्रक्रिया अघि बढाएका हौँ । हामी जतिसक्दो छिटो त्यहाँ सर्न चाहन्छौँ । तर, केही विवादका कारण हामी थप समस्यामा परेका छौँ ।’
काठमाडौँ प्लाजाको विवाद के–हो ?
२०५० साल असार ३ गते तत्कालिन राजदरबारका तर्फबाट राजकीय सम्पति कोष विभागका तत्कालिन सह–सचिव शंकरराज विष्ट र काठमाडौँ महानगरपालिका वडा–७ चावहिलका सुवासराज काफ्लेबीच वडा–३१ को कित्ता नम्बर २२३५ को पाँच रोपनी २ पैसा जग्गा व्यापारिक प्रयोजनका लागि आधुनिक भवन निर्माण गर्न करारनामा भएको थियो । सुवासराज काफ्लेको दायित्व कन्सेप्ट डेभलपर्स प्रा.लि. मा हस्तान्तरण भएपछि पुनः २०६६ पुस २३ गते नेपाल ट्रष्ट ऐन, २०६४ बमोजिम सो करारनामामा उल्लेखित जग्गा र त्यहाँ निर्माण भएको भवनको स्वामित्व नेपाल ट्रष्टमा हस्तान्तरण भएको हुँदा २०५० साल असार २ को करारनामाको अधिनमा रही पुनः करारनामा भएको थियो । त्यतिबेला नेपाल ट्रष्टको कार्यालयका तर्फबाट तत्कालिन उपसचिव टिकाराम घिमिरे र कन्सेप्ट डेभलपर्स प्रा.लि.का तर्फबाट प्रवन्ध सञ्चालक सुनिलभक्त श्रेष्ठबीच सम्झौता भएको थियो । सो सम्झौताको ७ नम्बर बुँदामा सम्झौताको अवधि २०७७ असार २ सम्म कायम रहने र प्रचलित कानुन संशोधन भई उक्त सम्झौतासँग नबाझिएको हदसम्म पछि कुनै कानुन संशोधन भए पनि त्यही सम्झौता कायम रहने उल्लेख गरिएको छ । ‘सो उप्रान्त बनेको भवन जमिन आदि सम्पूर्ण सम्पत्तिमा प्रथम पक्ष (नेपाल ट्रष्ट)को सम्पूर्ण अग्राधिकार रहने छ,’ भनी सम्झौतामा उल्लेख गरिएको छ ।
सम्झौताको पालनामा कन्सेप्ट डेभलपर्स प्रा.लि.को आलटाल २०६६ पुस २३ गते नेपाल ट्रष्टको कार्यालय र कन्सेप्ट डेभलपर्स प्रा.लि.बिच भएको सम्झौतालाई प्रा.लि. ले मान्ने हो भने अहिलेको जटिलता पैदा नहुने ट्रष्टका सञ्चालक समितिका एक सदस्यले जानकारी दिनुभयो । तर, अहिले उक्त प्रा.लि.ले पुनः सम्झौताको माग गर्दै अदालतको ढोका ढकढक्याएपछि थप अन्योल सिर्जना भएको छ । ‘सम्झौताको दफा २ (ग) मा खण्ड (ख) बमोजिम कन्सेप्ट डेभलपर्स प्रा.लि.ले सम्झौताको समाप्तिमा चालु अवस्थामै सो भवन प्रथम पक्षलाई हस्तान्तरण गर्नेछ भन्ने प्रष्ट उल्लेख गरेको छ,’ उहाँले भन्नुभयो, ‘सम्झौता सकिएपछि कानुन बमोजिम स्वतः नेपाल ट्रष्टलाई भवन हस्तान्तरण गर्नुपर्ने दायित्व कन्सेप्ट डेभलपर्स प्रा.लि.को देखिन्छ ।’ भवनको न्युनतम मूल्याङकन कति ? कन्सेप्ट डेभलपर्स प्रा.लि.सँगको २७ वर्षे सम्झौता सकिएपछि ट्रष्टले प्राविधिक अध्ययन टोली नै खटाएर भवनको न्युनतम मूल्याङकन गरेको थियो ।
प्राविधिक अध्ययन टोलीले भवनको न्युनतम मूल्याङकन प्रतिमहिना ५९ लाख १८ हजार तोकेको थियो । ट्रष्टको दाबी अनुसार कन्सेप्ट डेभलपर्स प्रा.लि.ले ८ लाख मात्र प्रस्ताव गरेको थियो । जसका कारण सो प्रा.लि.लाई पुनः सम्झौता गर्न नसकिने निर्णय गरी सो को जानकारी ट्रष्टले प्रा.लि.लाई गराएको थियो । लिज सम्झौता उल्लेख भाडा यस्तो छ २०५० साल असार ३ गतेको सम्झौता अनुसार पहिलो पाँच वर्ष प्रतिवर्ष रु २५ लाख, दोस्रो पाँच वर्षसम्म ३६ लाख र तेस्रो पाँच वर्ष ४८ लाख, चौथो पाँच वर्षमा ६१ लाख र पाँचौ ५ वर्षपछि सम्झौता अवधि समाप्त नहुन्जेल अर्थात ०७७ असार २ सम्म वार्षिक ७५ लाखका दरले भाडा बुझाउने सहमति भएको थियो । तर, अहिले ट्रष्टले प्रतिमहिना ६० लाख ५० हजारमा काठमाडौँ महानगरपालिकालाई लिज भाडामा दिने सम्झौता गर्ने निर्णय गरेको छ । पहिलो पाँच वर्षपछि १० प्रतिशत बढाउने सम्झौतामा उल्लेख छ ।
६ महिना अघि नै सम्झौता अवधि थप नहुने जानकारी ट्रष्ट स्रोतका अनुसार २०७६ वैशाख १ गते प्रा.लि.ले पुन सम्झौता गरिपाउँ भनी निवेदन दिएको थियो । तर, ट्रष्टको सञ्चालक समितिको २०७६ कात्तिक ७ को ४८ औँ बैठकले प्रस्तावित रकम न्युन रहेको भन्दै अस्विकृत गरेको थियो । त्यसैगरी नेपाल ट्रष्टको कार्यालयले २०७६ साल पुस १५ गते नै कन्सेप्ट डेभलपर्स प्रा.लि.लाई सम्झौता अवधि थप नहुने जानकारी गराएको थियो । न्युनतम मूल्याङकित रकम नदिएपछि महानगरसँग सम्झौता पटक–पटकका छलफलमा पनि कन्सेप्ट डेभलपर्स प्रा.लि.ट्रष्टले प्रस्ताव गरेको न्युनतम मूल्याङकित रकम दिन नचाहेपछि ट्रष्टले अन्यलाई लिजमा दिने प्रक्रिया अघि बढाएको थियो ।
काठमाडौँ महानगरपालिकाले ०७६ माघ २० मा काठमाडौँ प्लाजा लिज–भाडामा उपलब्ध गराई पाउँ भनी प्रस्ताव पठाएको थियो । ट्रष्ट सञ्चालक समितिको ५३ औँ वोर्ड बैठकले त्यसलाई सकारात्मक रुपमा लिई आर्थिक प्रस्ताव माग गरेको थियो । महानगरपालिकाले प्रति महिना ६० लाख ५० हजार र पाँच वर्षपछि १० प्रतिशत भाडा वृद्धि गर्ने गरी लिजमा लिने र सामान्य मर्मत, सम्हार, रंगरोगन र लिफ्टको व्यवस्था आफैँले गर्ने प्रस्ताव ट्रष्टलाई पठाएको थियो । सो मध्ये लिफ्ट जडान गर्दा लाग्ने लाग्ने खर्च रकम काठमाडौँ महानगरपालिकाले तिर्ने मासिक भाडादरमा कट्टा गर्ने प्रस्ताव गरेको थियो । सोही प्रस्ताव समेतलाई आधार मानी काठमाडौँ प्लाज लिजमा लिन सम्झौता गर्ने तयारी भएको थियो ।
मन्त्रिपरिषद्को २०७७ असार २ गते सम्पन्न बैठकले पनि काठमाडौँ महानगरपालिकालाई लिज-भाडामा दिने निर्णय गरेको थियो । कन्सेप्टको प्रस्ताव ढिला भयो ट्रष्ट स्रोतका अनुसार काठमाडौँ महानगरपालिकालाई जिलमा दिने सम्झौता प्रक्रिया अघि बढाएपछि कन्सेप्ट डेभलपर्स प्रा.लि.ले महानगरपालिकाले राखेको प्रस्ताव भन्दा बढी दिने प्रस्ताव ल्याएको थियो । ‘नेपाल ट्रष्ट ऐन, २०६४ को दफा ५ (१)मा ‘ट्रष्टको सम्पत्ति व्यापक र सर्वोत्तम सार्वजनिक लाभ हुने गरी राष्ट्रहितमा प्रयोग हुनेछ’ भन्ने व्यवस्था रहेको भन्दै त्यसै अनुसार ट्रष्टले प्रक्रिया अघि बढाएको बताएको छ । एउटा सरकारी निकायले अर्को सरकारी निकायलाई कार्यालय संचालनमा सहयोग गर्नु सरकारको पहिलो प्राथमिकता भएको भन्दै काठमाडौँ महानगरपालिकालाई लिज–भाडामा दिने कुरा अन्यथा नभएको ट्रष्टको भनाई छ । प्रा.लि. ले २०७७ जेठ २८ गते मर्मत सम्भारमा रु ८ करोड खर्च गर्ने र प्रति महिना ६२ लाखसम्म भाडा बुझाउने सर्तसहित सम्झौता अबधी थपका लागि पत्र पठाएको थियो । जुन महानगरपालिकाको प्रस्ताव उपर निर्णय प्रक्रिया अघि बढेपछि पेस गरिएको ट्रष्टको दाबी छ ।
भाडा मिलानमा समस्या
ट्रष्टको प्राविधिक टोलीको अध्ययनले भवनको न्युनतम मूल्याङकन प्रति महिना ५९ लाख १८ हजार ८ सय ९३ रुपैयाँ गरेको थियो । कन्सेप्ट डेभलपर्स प्रा.लि.ले सम्झौता अवधी सकिएपछि पनि हस्तान्तरण नगर्दा भाडा मिलानमा पनि अन्योलता बढेको ट्रष्टको भनाई छ । काठमाडौं प्लाजमा अहिले ८० बढी संघ–संस्था बहादुर कृष्ण ताम्राकार, सुनिलभक्त श्रेष्ठ, गोपालकृष्ण गड्तौला, रामानन्द प्रसाद सिंह, पुष्पबहादुर थापा, जयन्द्र बहादुर शाक्यसमेतले सञ्चालन गरेको यो भवनमा बैंक, वित्तीय संस्था, बिमा कम्पनी, रेमिट्यान्स र स्वस्थ्य क्लीनिकसहित करीब ८० ओटा संघ–संस्था रहेका छन् ।
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend