Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बन्दाबन्दीमा युवाहरुको सामूहिक सोच, रोपिए लिचीका दुई हजार बोट


    सोमबार, साउन ५ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका किसानले सामूहिकरूपमा व्यावसायिक लिची खेती शुरु गरेका छन् । लिचीको पकेट क्षेत्रका रूपमा विकास गर्न स्थानीय बरबोटे बिजवृद्धि कृषक समूहमा आबद्ध किसानले बन्दाबन्दीको अवधिमा बयाखुखोला नजिकैको २०० रोपनी जग्गा भाडामा लिएर दुई हजार बोटभन्दा बढी लिचीको बिरुवा रोपेका हुन् ।

    गाउँमै केही गर्नुपर्छ भन्ने सोचका साथ धितुङका स्थानीय बासिन्दाले १५ वर्षदेखि बाँझिएको जग्गामा पलाएको झाडी फँडानी गरेर खाल्डो खनेर लिचीको बिरुवा रोपेका छन् । शहर बजारमा बसिरहेका युवा बन्दाबन्दीको समयमा गाउँ आएपछि सामूहिकरूपमा बाँझो जग्गामा लिची खेती शुरु गरेका हुन् । लामो समयदेखि बाँझिएको व्यक्तिको जग्गा भाडामा लिएर व्यावसायिकरूपमा लिची खेती लगाइएको कृषक समूहका अध्यक्ष राजेश राईले बताउनुभयो । “दिनेश राईको अध्यक्षतामा नौ सदस्यीय लिची पकेट सञ्चालन समिति बनाएर गाउँलाई लिचीको पकेट क्षेत्रका रूपमा विकास गर्ने प्रयास शुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “कृषक समूहमा आबद्ध २५ परिवार किसानमध्ये नौ घरका किसान सामूहिक लिची खेतीमा लागेका छन् ।” लिचीले उत्पादन दिन थालेपछि तीन भाग लगाएर एक भाग जग्गाधनीलाई दिने शर्तमा जग्गा भाडामा लिइएको कृषक समूहले जनाएको छ । उत्पादनको तीन भागमध्ये एक भाग लगानीकर्तालाई र एक भाग मलजल गर्ने हेरालुलाई दिइने सहमति गरिएको कृषक समूहका अध्यक्ष राईले बताउनुभयो ।

    धितुङमा लिचीको बिरुवा रोपेको केही समयपछि कृषि ज्ञान केन्द्रको अगुवाइमा केही समयअघि संविधानसभा सदस्य पाँचकर्ण राई ‘पिके’, जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङलगायतको टोलीले अनुगमन गरेको थियो । कृषि ज्ञान केन्द्र खोटाङले उपलब्ध गराएको रु आठ लाख अनुदानमा किसानको रु आठ लाख रकम थप गरेर धितुङमा लिची खेती विस्तार गर्न लागिएको हो । बन्दाबन्दीको समयमा गाउँ आएका जिल्लाका विभिन्न ठाउँका स्थानीय युवाले बाँझिएको जग्गा फँडानी गरेर खेती बढाउने, लिची, आँप, केरा, कागती, ड्रागन फ्रुटलगायतका फलफूलका बोटबिरुवा रोप्ने काम गरिरहेका छन् । महामारीका समयमा गाउँलाई नै सुरक्षित थलोका रूपमा देखाएकाले गाउँ फर्केका अधिकांश स्थानीय बासिन्दा गाउँमै केही गर्नुपर्नेमा अग्रसर देखिएका छन् । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार