सिन्धुपाल्चोक । चीनको सीमा र हिमालसँग जोडिएको सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा नेपाली कांग्रेसले विवादित ब्यक्तिलाई अध्यक्षको उम्मेदवार बनाएपछि त्यो पार्टी छाड्ने क्रम बढेको छ । यसअघिको स्थानीय तहको निर्वाचनमा काँग्रेसबाट जितेका सदस्य नै माओवादीमा प्रवेश गरेको भोटेकोशी गाउँपालिकामा पुराना काँग्रेस कार्यकर्ताले पनि पार्टी छोड्न थालेका छन् ।
भोटेकोशीमा नेपाली काँग्रेसले गरेको एकाधिकार निर्णयबिरुद्ध बिद्रोह गर्ने क्रम बढेको हो । काँग्रेससँग लामो आस्था भएका ब्यक्तिहरु पनि काँग्रेस छोडेर धमाधम माओवादी केन्द्र प्रवेश गर्न थालेका छन् । आजै मात्र चाकु माइलाको नामले चिनिने कर्णबहादुर श्रेष्ठले लामो समयसम्म आस्था राखेको काँग्रेस छोडेर माओवादी केन्द्र रोजेका छन् ।
अघिल्लो पटक जितेर कसैलाई लाखापाखा नगरी विकासको काम गरेको भन्दै राजकुमार पौडेललाई फेरि जिताउन उनी माओवादी केन्द्र प्रवेश गरेका हु्न् । त्यस्तै काँग्रेसकै सक्रिय ब्यक्ति तिमराङ माइला भनेर चिनिने समशेर लामा र सुन्दर शेर्पाले पनि काँग्रेस परित्याग गरेका छन् । उनीहरुलाई भोटेकोशी गाउँपालिकाका अध्यक्षका उम्मेदवार राजकुमार पौडेलले पार्टीमा स्वागत गरेका छन् । यसअघि काँग्रेसबाटै सदस्य जितेका ब्यक्ति लगायत सयौंले माओवादी केन्द्र रोजेका थिए । उनीहरुले एकै स्वरमा भोटकोशीमा राजकुमार पौडेलको बिकल्प नभएको बताएका छन् ।