दमक । कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि गरिएको बन्दाबन्दीबाट थन्किएका सार्वजनिक सवारीसाधन आजदेखि सञ्चालनमा आएका छन् । करिब चार महिनायता आजदेखि झापामा पनि फाट्टफुट्ट?पमा भाडाका सवारीसाधन सञ्चालन हुन थालेका छन् ।
कोरोना भाइरसबाट हुनसक्ने जोखिम नियन्त्रण गर्न भन्दै गत चैत ११ गतेदेखि गरिएको बन्दाबन्दीबाट थन्किएका बस सञ्चालनका लागि सरकारले असार २६ गते नै आग्रह गरे पनि व्यवसायीले भने विभिन्न माग राख्दै सञ्चालन गरेका थिएनन् । मौद्रिक नीतिले आफूह?का मागलाई सम्बोधन गरेको भन्दै व्यवसायीले आजदेखि सरकारले जारी गरेको मापदण्डअनुसार नै बस सञ्चालन ल्याएका हुन् । आज भने पहिलो दिन भएकाले झापा जिल्लामा १० वटाजति मात्रै गाडी सञ्चालन भएको यातायात व्यवसायी सङ्घ दमकका अध्यक्ष गङ्गा सिटौलाले जानकारी दिनुभयो ।
एक जिल्लाबाट अर्को जिल्लासम्म जान नपाइने भएकाले झापाको काँकरभिट्टाबाट मोरङको सीमा उर्लाबारी मावा पुलसम्म बस सञ्चालनमा आउन थालेका हुन् । बस सञ्चालन भए पनि आज एउटामा पाँच÷छ जना मात्रै यात्रु रहेको अध्यक्ष सिटौलाले बताउनुभयो । भोलिबाट अलि धेरै बस सञ्चालनमा आउने उहाँले बताउनुभयो ।
लामो समयदेखिको बन्दले व्यवसायी मारमा परेको तथा अब काममा फर्कनुको विकल्प नभएको भन्दै सुरक्षित तवरले यात्रुवाहक बस चलाउन थालेको उहाँले बताउनुभयो । तीन महिना बढीको बन्दाबन्दीले श्रमिक तथा कतिपय व्यवसायी पलायन पनि भएका छन् । दमकमा आजदेखि बस सञ्चालन गरिए पनि स्यानिटाइजरको अभाव, मास्क तथा गाडीका स्टाफ जोखिममा पर्ने भन्दै चुनौती रहेको व्यवसायीको भनाइ छ ।