काठमाडौं । फुटपरस्त गतिविधि गरेको भन्दै नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश ओली (सुदर्शन)लाई पदमुक्त गरेका छन् ।
बुधबार बिहान कपिलवस्तुको शिवगढीमा बसेको विप्लव पक्षीय नेताहरुको सचिवालय बैठकले ओली र बास्तोलालाई निष्काशन गरेको हो ।
‘सुदर्शनजी र कञ्चनजीले मच्चाएको वितण्डा एवं कञ्चनजीले अलग केन्द्रका रुपमा वक्तव्य निकालेपछि लगत्तै सचिवालयका कमरेडहरूसँग छलफल गरियो’, विप्लवले बुधबार जारी गरेको विज्ञप्तिमा भनेका छन् । ‘सबैतिरका सुझाव एवं सुदर्शन र कञ्चनका गल्तीहरूको प्रकृति हेर्दा उहाँहरु निकै पर पुगिसकेको, विभिन्न बैठक एवं भेलासमेत गर्दै हिँडेकोले पार्टी विधान अनुसार दुवै जनालाई अनिश्चित समयका लागि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराइन्छ ।’
कारबाहीमा परेकाहरुले छुट्टै पार्टी गठन गर्ने अन्तिम तयारी गरेका छन् ।